बैशाख १३, काठमान्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । एकीकरणका वाँकी काम टुङ्ग्याउन सचिवालयको बैठक बस्न लागेको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
फोटो फाइल
प्रवत्ता श्रेष्ठले बताए अनुसार यसअघिकै सचिवालय बैठकले पोलीटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरण प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको छ । उनले भने आइतबारसम्म अध्यक्षद्वयले पोलिटव्युरो सदस्यको नामावली, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरणबारे प्रस्ताव तयार गर्नुहुन्छ र, सोही दिन बस्ने सचिवालय बैठकले त्यसउपर छलफल गरेर निर्णय गर्छ।
पहिला पोलीटव्यूरो गठन नभै केन्द्रीय सदस्यको कार्यविभाजन नहुने श्रेष्टले बताए । आइतबार बस्ने बैठकले राजनीतिक प्रतिवेदन र विधानबारे पनि छलफल गर्ने प्रवत्ता श्रेष्ठले बताए । १४७ सदस्यीय पोलीटव्युरोमा पूर्व एमालेतर्फ ८१ र पूर्व माओवादीतर्फ ६६ सदस्य रहेने यसअघिनै सहमति भैसकेको छ । अहिले तत्कालिन दुवै पार्टीका शिर्ष नेताहरु पोलिटव्युरोमा रहने सदस्यको नामावली छनोटमा जुटेका छन् । पूर्व एमाले तर्फ साविककै ६५ सदस्यीय पोलीटव्युरोमा रहेका स्वत र त्यसबाहेकका नामावली छनोटको गृहकार्यमा नेताहरु जुटेका छन् ।
पार्टी एकताको ११ महिनामा बल्ल नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । त्यसबाहेक सचिवालय, केन्द्रीय कमिटी, स्थायी कमिटी र प्रदेश कमिटी यसअघि नै टुंगाएको थियो ।
एकताको एक बर्ष पुग्नै लाग्दा एकीकरण धेरै काम अझै वाँकीनै छन् । जसले गर्दा बैशाख महिनाभित्रै एकीकरणका वाँकी काम टुङ्ग्याउने दबाब शीर्ष नेताहरुलाई छ । त्यसबाहेक अहिलेसम्म नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित भएको छैन । पूर्व माओवादीतर्फ हाल स्थायी कमिटीका १९ जना स्वत पोलीटव्युरोमा रहेने र त्यसबाहेक ४७ जना सचिवालयबाट छनोट गर्ने गरी नेताहरु होमवर्कमा जुटेको खबर छ ।
प्रतिक्रिया दिनुहोस