७८ लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता


चैत १२, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घूस लिने राजनारायण पाठकविरुद्ध मंगलबार अख्तियारले नै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

विशेष अदालतमा बुझाइएको अभियोगपत्रमा घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ । अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन २०४९ अनुसार कारबाही माग गरिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका थिए ।

आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

घूस लिएको समाचार बाहिरिएपछि उनले फागुन ३ गते पदबाट राजिनामा दिएका थिए ।

१२ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको