चैत १२, बुटवल । विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्न प्रहरीले देशभर सक्रियता बढाएको छ । यता लुम्बिनीका कतिपय जिल्लाहरुमा पनि प्रहरीले आफ्नो सक्रियता बढाएको देखिन्छ ।
गएराति मात्रै पूर्वी नवलपरासीमा एक जना र पश्चिम नवलपरासीमा एक जना गरी दुई जना जिल्ला स्तरका नेताहरुलाई पक्राउ गरे लगतै मंगलबार दिउँसो पूर्वी नवलपरासीको जनपरिषद प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटले जिल्लामा विप्लवका गतिविधि रोक्नका लागि सुरक्षा सतर्कता बढाएको बताए ।
प्रहरीले सोमबार राति विप्लवको नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पक्राउ गरेको थियो भने मंगलबार नवलपुरका जनपरिषद प्रमुख दानबहादुर आचार्यलाई पक्राउ गरेको हो ।
यता गुल्मिमा आफ्नै कोठामा पढिरहेका अखिल (क्रान्तिकारि)का जिल्ला सचिव बिष्नु बि.क.लाई प्रहरीले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।
को कहाँबाट पक्राउ परे ?
नवलपरासीबाट सुमन ज्ञवाली र गणेश ढकाल पक्राउ परेका छन् भने नवलपुरबाट धनबहादुर मर्दनिया र दानबहादुर आचार्य पक्राउ परेका छन् ।
यसैगरी रुपन्देहीबाट प्रदेशी चौधरी, योगेन्द्र यादव, महेन्द्र टण्डन, युवराज न्यौपाने कपिलवस्तुबाट श्याम दास, मङ्गल थारु, दुर्गाबहादुर रोकाया गुल्मीबाट खिम खड्का र बिष्णु बि.क. लगायत पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस