‘विप्लब’ निकट पत्रकार संगठनले किन फेर्यो नाम ?


फाल्गुन १४, काठमान्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठनको नाम फेरिएको छ । यसअघि रहेको क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल बनाईएको हो ।

संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तनको जानकारी दिएको छ । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

कानुनी र प्राविधिक कारणले नाम फेर्नुपरेको अध्यक्ष डुम्रेको भनाई छ । संगठनले यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार संगठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको महासचिव विष्टले जानकारी दिनुभयो ।

पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वहस चलाएको थियो । संगठनका अध्यक्ष डुम्रेले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तिब्र पार्ने जानकारी दिनुभयो । उहाँले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिन समेत आग्रह गर्नुभयो । उहाँले सरकारले प्रेस नियन्त्रित कानुनहरु तत्काल नसच्चाए आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

आफुलाई क्रान्तिकारी पत्रकार भन्ने केहि समुह जनपत्रकार संगठन नेपालको बिरुद्द अनर्गल प्रचार गरिरहेको प्रति संगठनले खेद प्रकट गरेको छ । आफ्नो संघर्ष जनताका बर्गदुश्मन यो राज्य व्यवस्थाका बिरुद्द भएको बताउदै, हाम्रा बिरुद्द अनाबस्यक बिरोध र प्रचार नगर्न समेत उक्त समुहलाई अध्यक्ष डुम्रेले आग्रह गरेका छन् । एक फरक प्रसंगमा उनले भने ‘पत्रकार साथीहरु आउनुहोस संसदीय दलाल व्यवस्थाका बिरुद्द एक जुट भएर लडौ, क्रान्तिकारीहरु एकजुट भएर दलाल व्यवस्थाका बिरुद्द लड्ने बेला हो । तपाईहरु हाम्रो संगठनको बिरुद्द जाइलागेर के पाउनु हुन्छ ?’

पार्टी योजना र निर्देशन बिपरित अराजक कार्य गरेको भन्दै उक्त समुहका ४ जनालाई पार्टीले यस अघि नै कारबाहीगरि निस्कासित गरेको थियो ।

 

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको