विमानस्थलभित्रै नेविसंघको प्रधानमन्त्रीलाई कालो झण्डा, ४ जना पक्राउ (तस्बिरसहित)


माघ १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ ।

कालो झण्डा देखाउने कार्यमा संलग्न काँग्रेसको भातृ संगठन नेविसंघका ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ । स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका ओली स्वदेश फर्किने क्रममा उनीहरुले कालो झण्डा देखाएका हुन् ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेताहरु निरञ्जन थापा, सुवास घिमिरे सुदीप अधिकारी रहेका छन् । उनीहरुले प्रतिपक्षी दलको विरोधका बाबजुत पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाइएको छ ।

डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले विमानस्थल पुगेर स्वागत गरेका थिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीले जारी राखेको अनशनको औचित्य नभएको प्रतिक्रिया दिएका छन् । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि डा. केसीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

 

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको