पोखराबाट फेरी अर्का पत्रकार पक्राउ


मङ्सिर ९, काठमाडौँ । पोखराबाट फेरी एकजना पत्रकार पक्राउ परेका छन् ।

बिद्यार्थी राजनीति छाडेर करीब तीन वर्ष अघिदेखि पोखरामा स्वतन्त्र पत्रकारिता गरिरहेका युवा पत्रकार आश तमु (गुरुङ) लाई सोमबार मध्यान्ह पोखरा-१० रामबजारस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको बताएको छ ।

पत्रकार गुरुङ करीब दुई वर्षदेखि राजनीति डट कममा सहसम्पादकका रुपमा कार्यरत थिए । उनलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक पत्रकार भएको आशंकामा प्रहरीले गिरफ्तार गरेको हुनसक्ने आशंका गरिएको छ ।

पत्रकारितामा आउनु अघि उनी बिद्यार्थी राजनीतिमा सक्रिय थिए। तर पत्रकारितामा आएपछि उनी अहिले पार्टीसंग सम्पर्क बिहिन भएर स्वतन्त्र पत्रकारिता गर्दै आएका छन् । उनी बिप्लव नेतृत्वको नेकपा र त्यस पार्टीको कुनै पनि जनवर्गीय संगठनमा रहेका छैनन् ।

यसैबीच बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एबम कास्की संयोजक रमाकान्त बास्तोलाले पत्रकार आश तमुलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले आफ्नो मर्यादामा रहेर पत्रकारीता गर्दै आएका पत्रकार माथिको अनावश्यक धरपकड बन्द गर्न पनि सरकारसंग अनुरोध गरेका छन् ।

यस अघि पोखराबाटै संचारकेन्द्र डट कमका पोखरा समाचारदाता राजकुमार घिमिरेलाई गएको मङ्सिर १ गते पोखराको बिरौताबाट पक्राउ गरेको थियो ।

पत्रकार घिमिरेलाई उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएपनि फेरी गिरफ्तार गरेर वडा प्रहरी कार्यालय रामबजार पोखरामा राखी प्रहरीमाथि अभद्र ब्यबहार गरेको मु’द्दा चलाएको छ ।

९ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको