प्रचण्डले ओलीको बचाउ गर्दै देउवालाई जवाफ : राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाऔं


मंसिर ०९, चितवन । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् ।

सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले भने ‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’

प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए । ‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौं’, प्रचण्डले भने ‘हाम्रो एक इन्च भूमि पनि दिदैनौं भारतको एक इन्च पनि चाहिँदैन ।’

चितवन निर्वाचन क्षेत्र नः ३ का सांसदसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको बताए । उनले बाँकी साँढे दुई बर्षको अवधिमा चितवनका मूल सडक र मूख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाए ।

नारायणी र राप्ती नदी नियन्त्रण गर्ने, जंगली जनावर र मानव बीचको द्वन्द्व कम गराउन तटीय क्षेत्रमा रिङरोड, ड्याम निर्माणको काम त्रीव गतिमा अघि बढेको प्रचण्डको भनाइ छ । चितवनलाई देशकै नमूना विकासको मोडलमा विकास गर्ने आफ्नो परिकल्पना रहेको भन्दै सोही अनुसार विभिन्न निकायहरुबाट बजेट तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रचण्डले बताए ।

आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडा नः १६, नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नः ३ मा पर्छ ।

९ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको