यादवलाई सरकार निल्नु न ओकल्नु


मंसिर ९, काठमाडौँ । उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे ।

शुक्रबार साँझ दिल्लीबाट फर्केका उनी आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यभार सम्हाल्न जानुपर्ने थियो । मन्त्रालयमा उनको ‘नेमप्लेट’ टाँसेर कर्मचारी दिनभर कुरिरहे तर उनी पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेताहरूसँग उपनिर्वाचनसम्बन्धी कार्यक्रममा भाग लिन बिहानै पोखरा लागे ।

यादव भारतको नयाँदिल्लीमा रहेका बेला बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय परिवर्तन गरिदिएका थिए । त्यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा थिए ।

प्रधानमन्त्रीले ‘अपमानपूर्वक’ आफ्नो जिम्मेवारी फेरबदल गरेको भन्दै असन्तुष्ट रहेका यादवलाई सरकार ‘निल्नु न ओकल्नु’ भएको छ । न उनी दिएको जिम्मेवारी स्विकारेर अघि बढ्ने अवस्थामा छन् न सरकारबाट बाहिरिने ।

अपमानपूर्वक व्यवहार भएको भन्दै आफ्नै पार्टीले आपत्ति जनाइरहेका बेला यादव सरकार छोड्न डराइरहेका छन् । यसका पछाडि एउटा कारण हो– नेकपा र राजपाबीच संघदेखि प्रदेश २ सरकारसम्म हुन सक्ने गठबन्धन । ‘सरकार छोडिहाल्दा राजपा संघीय सरकारमा सहभागी हुन सक्छ, प्रदेश २ को सरकारको भविष्यमा पनि प्रश्न उठ्न सक्छ,’ यादवनिकट एक नेताले भने, ‘त्यसैले अहिले हतारमा निर्णय गरिहाल्नुभन्दा केही समय पर्खनु उपयुक्त हुन्छ भन्ने उहाँको निष्कर्ष छ ।’ समाजवादी पार्टीका पदाधिकारीको शनिबार राति अबेरसम्म बसेको बैठकमा यही विषयमा समीक्षा भयो ।

बैठकमा उपस्थित अधिकांश नेताले नेकपाले अपमानपूर्ण व्यवहार गरेको भन्दै सरकारबाट बाहिरिनुपर्ने मत जाहेर गरेका थिए । बैठकले औपचारिक रूपमा मन्त्रिपरिषद् पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकाले गम्भीर असहमति प्रकट गर्ने निर्णय पनि गर्‍यो । तर सरकार छोडिहाल्ने निर्णय गर्न यादव हच्किए । त्यसैले बैठकले नेकपासँग वार्ता गर्ने भन्दै वार्ता समिति बनाएर अन्यमनष्क अवस्थालाई लम्ब्याउने उपाय निकाल्यो ।

अर्का अध्यक्ष भट्टराईलगायतले सरकारबाट बाहिरिनुपर्ने खालको मत राखेपछि यादवले ‘सबै साथीहरूले भन्नुहुन्छ भने सरकारबाट बाहिरिन कुनै समस्या छैन तर सम्भावित घटनाक्रमहरूलाई पनि ख्याल गर्नुपर्छ’ भन्दै राजपा र नेकपाबीच हुन सक्ने सहकार्यप्रति इंगित गरे । त्यसैले तत्काल सरकार नछोडी वार्ता गर्दै अघि बढ्ने निर्णय भयो । कान्तिपुर दैनिकमा खबर छ ।

२०७६ मंसिर ९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको