गोठालाको नजरमा ‘भेडाको स्वभाब’


पृथीछक बुढा मगर । भेडाको स्वभाव बडो अजिवको हुन्छ । बुवाले जिन्दगी भरी भेडा पाल्नु भो । भेडाहरुसंगै बढेको मान्छे हुँ । त्यसैले फुच्चे भेडाको स्वभाव कस्तो हुन्छ ? तरुनो भेडाको कस्तो हुन्छ ? र उमेर खाइसकेको भेडाको स्वभाव कस्तो हुन्छ ? सबै बुझेको छु ।

५४/५५ सालतिर जस्तो लाग्छ, अहिलेको पुर्बी रुकुम, पुथाउत्तरगङ्गा गाउँपालीका मैकोट तिज्याङका टीका मगरका अढाई सय भेडा एकै चिहान भए । चराउन लगेको भेडाहरु एउटालाई बाघले के झम्टेको थियो, ह्वसह्वास हराएर झम्टी माग्ने भेडा सयौं मिटर अग्लो छागावाट हाम फालेपछी सबै भेडा त्यसैको पछि लागेर हाम फाले । अन्ततः सबैको आन्द्रा भुडी निस्कियो । टाढा टाढासम्मको गाउँलेले सित्तैमा भेडाको मासु खान पाए । बिचरा केही मिनेट अगाडिको अढाई सय भेडाको मालिक टीका सडकमा आए ।

भेडाको दिमागमा कतिखेर के हुन्छ ? कसैले ग्यारेन्टी लिनै सक्दैन । त्यसैले भेडाहरुको भरोसा गर्नु हुँदैन । एउटा भेडा मात्रै अगाडी जानुपर्छ, भएभरको हुल उतै लाग्छ । के सत्य हो ? के असत्य हो ? खुट्याउन सक्दैन । लेकमा चराउन गएको वेला बिखे घाँस त खाइदिन्छ, अरु के कुरा गर्नु र ।

तुलनात्मक रुपमा अरु पशुहरु भन्दा भेडा निकै सोझो हुन्छ । त्यसले दायाँबायाँ कतै देख्दैन । सोच्यो कि सोच्यो सोच्यो । बडो एकसुरेको हुन्छ । त्यो यतिसम्म सोझो हुन्छ कि बाघले झम्ट्यो भनेपनी कराउँदैन । कतै जंगली झारमा अल्झ्यो भने पनि त्यो चिच्याउने जातको पशु होइन । यदि बाख्रालाई सानोतिनो केही होस् न त ! हारगुहार गरिहाल्छ । तर भेडाको कुनै होसियारीपन हुँदैन । त्यसैले चराउन गएको भेडा कतिखेर हराउँछ भन्ने कुरा थाहै हुँदैन ।

भेडा बैगुनी पनि हुन्छ । बुकिमा लगेको वेला उसको लागि त्यत्रो गोठ राखिएको हुन्छ, कुकुर हुन्छ, मान्छे हुन्छ तर राती गोठ देखि भागेर कुनै चुचुरोमा गएर बैठक जमाउछ । त्यसैले गोठालोलाई सधैं पिर परिरहन्छ र राती बुझिदै बेलाबेलामा उनिहरुलाई हेरिरहनु पर्छ । यति हुँदाहुँदै पनि भाग्छन् । त्यसैले त हो बाघको भोजन हुनु परेको । कोठ नछोड्ने हो भने मान्छे, कुकुर र गोठमै आएर बाघले बिरलै आक्रमण गर्छ । यो कुरा भेडाहरुले बुझेको खै ? यहि कुरा नबुझेर नै नेपाली भेडाहरुले यो हविगत भोग्नु परेको हो ।

अहिले पनि केही भेडाहरु दायाँबायाँ नहेरी, नबुझी दौडिरहेका छन् । कुन छागावाट खस्ने हुन् थाहा छैन । पटकपटक खसेर पनि नचेतिने नेपाली भेडाहरुको विशेषतै हो । त्यसैले पनि बिश्वमा नेपाली भेडाहरुको बहुतै माग हुने गर्दछ । सचेत नहुने अचेत भेडाहरुलाई हेरेर -याल काढेर बसेका जमानाका गजराज अहिले नागार्जुनको गुफामा भेडाको आवाज निकालेर भ्या भ्या गरिरहेको छ । उनिहरुलाई थाहा छैन कि उसको गुफा भित्र पस्ने बित्तिकै उसले आफ्नो अशली रुप देखाइहाल्छ । तब भेडाहरुसंग आत्मदाह गर्नुको बिकल्प हुनेछैन । त्यसैले २१औं शताब्दीका भेडाहरुले मान्छेहरुवाट केही सिक्न जरुरी भएको छ ।

८ भाद्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको