मेसीलाई छैटौंपटक गोल्डेन बुट


जेष्ठ ११, एजेन्सी । बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।

मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी हो । पीएसजीले शुक्रबार राती भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि मेसीको उपाधि पक्का भएको हो ।

मेसीको लगातार तेस्रो जित हुँदा स्पेनिस ला लिगाबाट विजेता घोषित भएको भने यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट खेल्दै ३१ गोल गर्दा उक्त अवार्ड जितेका थिए । त्यसयता स्पेनिस लिगका खेलाडीले नै उपाधिमा दवदवा कायम गरेका छन् ।

मेसी उमेरका हिसाबमा यस उपाधि जित्ने दोस्रा पाका खेलाडी बनेका छन् । मेसीले ३१ वर्ष, ११ महिना र २५ दिनको उमेरमा गोल्डेन बुट जिते । यसअघि सन् १९९० मा ह्युगो सान्चेजले मेसीभन्दा १ महिना १ दिन बढी उमेरमा उपाधि जितेका थिए ।

मेसीले गोल्डेन बुट हात पारेपनि अहिले उनको दिमागमा च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलले नै स्थान लिएको बताए । ‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा त्यसबारे केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु । म आफ्नोबारे पनि सोचिरहेको छैन, ‘ उनले भने ।

मेसीले शनिबार हुने कोपा डेल रे को फाइनल झनै महत्त्वपूर्ण रहेको बताए । ‘ यो फाइनल खेल हो । यो जित्न सकेनौं भने हामी अहिले भन्दा खराब अवस्थामा पुग्नेछौं ,’ उनले भने ।

११ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको