राष्ट्रपति भण्डारी बस्ने होटलमा फहरायो नेपाली झण्डा


बैशाख १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणको लागि बुधबार चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी होटेल पिपल्स ग्रान्डमा बसेकी छन् ।

चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डमा नेपाली झण्डा फहराइएको छ ।

सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी थिइन् । होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।

त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो । फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।

सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमान गरिएको छ । सान्सी प्राप्तको जनसङ्ख्या तीन करोड ८० लाख भएको अनुमान गरिएको एक अधिकारीले जानकारी दिए ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरेका थिए । साथै, मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याउनुभएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन् । मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।

१२ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको