विप्लव नेकपाका भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज पक्राउ


चैत ११, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् ।

विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेको १२ घण्टा नबित्दै शाहीलाई कालिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माका अनुसार विप्लव समूहका कालिकोटका जनसरकार प्रमुख समेत रहेका शाहीलाई मोल्पा भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई जिप्रका लगिएको र अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

यस्तै आजैमात्र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्की र पूर्वविद्यार्थी नेता केदार खतिवडालाई रिहा लगतै प्रहरीले पुनः पक्राउ गरेको छ ।

कार्कीलाई सोमबार र खतिवडालाई आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आठ–आठ हजार धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको बताइएको छ ।

नेकपाका नेतासमेत रहेका कार्कीलाई गत फागुन २१ गते राजधानीको सामाखुसीस्थित डेराबाट सादा पोसाकका प्रहरीको टोलीले गिरफ्तार गरेको थियो ।

संयोजक कार्की यसअघि पटकपटक गिरफ्तार पर्दै र रिहा हुँदै आएका थिए । महासङ्घ ने.क.पा. निकट किसानहरूको सङ्गठन हो ।

नेकपाका ब्युरो सदस्यसमेत रहेका खतिवडालाई प्रहरीले गत फागुन २२ गते काठमाडौँको दरबारमार्गबाट गिरफ्तार गरेको थियो ।

११ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको