चैत ११, पाल्पा । पाल्पामा आइतबार एसईई परीक्षा दिने तयारीमा जुटेकी एक किशोरी घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्लाको बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विक आज विहान एसईईको परीक्षा दिन जानुको केही घण्टाअघि घरको बलोमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनले आज त्यस गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिने तयारीका लागि बुटवलबाट हिजो साँझ मात्रै घर आएकी थिइन् ।
वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार उनका बाबु मुक्तबहादुर विक विदेशमा रहेका र उनकी आमा बुटवलमा डेरा गरेर बस्ने गरेकी थिइन् । ‘बहिनीको परीक्षा सकिएपछि उनी बहिनीलाई छाड्न बुटवल गएकी रहिछन् ।’ वडा अध्यक्ष अधिकारीले भने ।
‘हिजो साँझ मात्र परीक्षा दिन घरमा कोठामा उनी एक्लै सुतेकी रहिछन् । बिहान त्यस्तो अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर गरेका हौं’–वडाध्यक्ष अधिकारीले भने । ‘एसईई परीक्षा दिन हिजो साँझ बुटवलबाट घर आएकी मनिषा झुण्डिएको अवस्थामा मृत फेला परेको र पोष्टमार्टम गरि परिवारलाई उनको शव बुझाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले बताए ।
‘उनी हिजो साँझ दाल भात आफैले पकाएर खान खाई भान्छा कोठामा तालाा लगाई आफु सुत्ने कोठामा गएर सुतेको देखिन्छ’– कमजोर विद्यार्थी रहेको तनावले परीक्षा नदिन खोजे जस्तो पाईन्छ, बुटवलमा आमासँग परीक्षा दिन्न भो पनि भनेकी रहिछन्,आमाले दिनैपर्छ भनेपछि आएकी रहिछन्, त्यही कारणले हो वा के हो ? खास कारण भने खुल्न सकेको छैन’– डिएसपी सापकोटाले भने ।
उनका बाबु विदेशबाट घर आएर केहि समयअघि मात्र फेरि विदेश गएका थिए । तीन छोरीहरुमध्ये एक छोरी आमासँग बुटवल र मनिषा सहित २ छोरी घरमै बसेर सोही विद्यालयमा पढ्दै आएको स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस