सामाजिक कार्य विषयमा स्नातक: मेरो एक अनुभव


देवयानी घर्ति मगर ।

बिषय प्रवेश:

मैले मेरो स्नातक तह सामाजिक कार्यबाट गरेको छु । सानै देखि गाउमा हुर्के बढेकोले पनि होला यो बिषय हाम्रो कैयौ परम्परागतरुपमा चल्दै आएको चलन र प्रक्रियासंग नै सम्बन्धित हुदोरहेछ । तर सिद्दान्तमा आधारित कुराहरु पढ्दा भने अलि बढी घोटिन पर्ने पनि भयो । यसरि पढ्दा मेरो सानै देखिको समाज सेवा गर्ने इच्छा र चाहनाले होला यो बिषय पढ्न खुबै रमाइलो लाग्यो। र मलाई समाजमा रहेका गरिब, दुखी, निमुखा, बेसाहराहरुलाई सहयोग गरेर आफुलाई सामाजिक कार्यमा लगाउने आधारभूत सैद्दान्तिक ज्ञान पनि आर्जन भयो।

सामाजिक कार्य या समाज-कार्यको छोटो अर्थ ‘समाजको लागि गर्ने काम’ हो। यो आफ्नो व्यक्तिगत काम भन्दा फरक हुन्छ। यसमा आफ्नो घर परिवार भन्दा बाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरु देखि ठुलो समुदाय हुदै सिंगो राष्ट्रलाइ पनि सहयोग गर्न सकिन्छ। बास्तबमा सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक बिज्ञानको मागमा रहेका विभिन्न मानबजीबन, ब्यबहार, सामाजिक समुह र सामाजिक कार्यहरुको बारेमा अध्धयन गरिन्छ। यस्ता बिज्ञानहरुमा मुख्यत: समाजशास्त्र, मानबशास्त्र, ब्यबहारिक ज्ञान, ब्यबस्थापन, जनसंख्या, शिक्षा, भूगोल, ईतिहास, कानून, राजनीतिशास्त्र, मनोविज्ञान, प्रशाशन आदिहरु पर्छन।

सामाजिक कार्यको बिकाश १९औ शताब्दि अगाडी भएको हो। सामाजिक कार्यले विभिन्न संस्थाहरुमा र संस्थाहरु मार्फत सहयोग दिलाउने काम गर्दछ। यसको सुरुवात व्यक्तिहरुले दिने दान या चन्दाबाट सुरु भएको हो। यो दान या चन्दा धार्मिक संगठन र निसहायहरुको लागि केहि व्यक्तिहरुले दिन सुरु गरे पछि अन्य व्यक्तिले पनि सिको गरेदेखि यसको अबधारणा सुरु भयो। यसको अबधारणा सुरुहुदा त्यसबेलाको समाज धर्मभीरु थियो। र धर्म कै नाममा मान्छेहरुले नजानिँदो तरिकावाट समाज सेवा वा कार्यलाइ अपनाउदै गए।

यो प्रक्रियाले विभिन्न ठाउँ र देशमा नजानिँदो तरिकाले प्रसारबादको रुप लिईरहयो र बिशेषगरि औधोगिक क्रान्ति पछि भने यसले मुर्तरुप लिन पुग्यो। यसै सिलसिलामा मान्छेहरु एक समुदायवाट अर्को समुदायमा जान थाले र समाज सेवा गर्न थाले।

यो प्रक्रिया विभिन्न समाज हुदै एक देश र अर्को देश सम्म पुग्न थाल्यो। यसरि समाजिक कार्य राष्ट्रिय स्तरमा मात्र नभएर, अन्तराष्ट्रिय स्तरसम्म पनि फैलन थाल्यो। मान्छेहरु गतिशील भए अनि प्रबिधियुक्त पनि। गतिशिलता र प्रबिधिमयले गर्दा सामाजिक सेवा कै नाममा मान्छेहरुलाई देशभित्र र बाहिर नयाँ-नयाँ ठाउहरुको भ्रमण गर्न र आफुले जानेका कुरा शेयर गर्न सजिलो भयो। यसरि उनीहरुले जानेका, सिकेका र बुझेका कुराहरुलाई सिद्दान्तको रुपमा प्रस्तुत गरियो। र आज हामी त्यहि सैदान्तिक कुराहरुको आधारभूत कुराहरु स्नातक तहको पाठ्यक्रममा पढ्छौ।

सामाजिक कार्य गर्नको लागि नयाँ ठाउहरुमा बिशेष गरि सिकारुहरुको लागि गाइडेन्सहरुको सहयोग आबश्यक हुन्छ। र एक्लो रुपमा काम गर्नु भन्दा पनि ग्रुपमा काम गर्दा धेरै कुराहरु सिकिन्छ र जानकारी पनि हुन्छ। सामाजिक कार्य अनुसार नै विभिन्न समुह, समुदाय र लक्षित वर्गहरुलाई विभिन्न संस्थाहरुले सहयोग र सेवा गर्दछन । वास्तबमा यो कार्य मानब जीवनका लागि अति आबश्यक पनि हुन्छ। यसरि कार्य गर्दा यसको आफ्नो छुट्टै खालको नियम र सिद्दान्त हुन्छ।

बेलायतवाट सुरु भएको यसको बिकाश आज संसार भरि ब्याप्त छ। यो कार्य प्रगतिशील प्रकृतिको हुन्छ। यो बहुउद्देशीय कार्य पनि हो जहा स्वयं व्यक्तिले एक्लै गर्न केहि जटिलताहरु आउछन तर एक्लै गर्न नसक्ने भने होइन। यो क्रमबद्ध र चरण बद्ध पनि हुन्छ। यसरि क्रमबद्ध र चरणबद्ध अनुसार नै हरेक सामाजिक कार्यको लागि आबश्यक समुह र सेवाको छनौट गरि प्राथमिकता दिइन्छ। समाजमा भए-गरेका वर्तमान पक्षहरुलाई क्रमिकरुपमा सुधार गर्न यसले बिशेष जोड दिन्छ। यसका लागि हामीले समाजमा रहिआएका धर्म, संस्कृतिलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्नु पर्छ।

हरेक समाजका आ-आफ्नै खालको धर्म, संस्कृति, राजनीति, सामाजिकीकरणको प्रक्रिया, भेषभुषा आदि भएको हुनाले सामाजिक सेवाको तौर तरिका पनि फरक हुने गर्छन। उदाहरणको लागि हाम्रो समाजमा विभिन्न जात- जातिहरु ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, थारु, चेपांग, बिस्वकर्मा, नेपाली, बादी लगायत विभिन्न जात जातिहरु र धर्ममा हिन्दु, बौद्ध, मुस्लिम, इशाई लगायतका धर्ममा असर नपर्ने गरि सामाजिककार्यलाइ अगाडी बढाउनु पर्छ।

वास्तबमा सामाजिक कार्य एक खेल परिबर्तक पनि हो। यो एउटा शैक्षिक एबम व्यवशायिक विधा पनि हो। यसले व्यक्तिगत आधारमा, समुहमा या समुदायमा व्यक्तिहरुको सहायता लिई समाज सेवाको प्रकृति अनुसार प्राथमिकता निर्धारण गर्दछ। जसमा व्यक्ति आफ्नो सहायता स्वयम् कसरि गर्ने भन्ने सिक्छ। यसकै माध्यमबाट व्यक्ति र समाजले बर्तमान परिस्थितिसंग आफ्नो समस्याको पहिचान गरि समाधान कसरि सुल्झाउने भन्ने क्षमता राख्छ। तसर्थ समाजसेवा अन्य ब्यबशाय भन्दा भिन्न र आत्मसंतोसी पनि हुन्छ। समाजसेवामा वैयक्तिक आधार, समुह अथवा समुदायको सहायता लिईने भएको हुनाले यसलाई सभ्य, शिस्ट र अनुशासित् बनाउन सम्बन्धित व्यक्ति या समाजको सामाजिक,आर्थिक एबम मनोबैज्ञानिक पक्षहरुको पनि अध्धयन गर्नु पर्छ । नत्र यसले सम्बन्धित् व्यक्ति, परिवार, समुदाय वा सिंगो समाजलाई नै नराम्रो प्रभाब पार्न सक्छ।

सामाजिक कार्यमा बिशेष गरि असहाय र दुखि व्यक्ति र समुदायहरुमा सेवाको भाबना, उनीहरुको आत्मसम्मानको कदर, उनीहरुको सामाजिक सम्बन्धको सम्मान, आफ्नो इमान्दारिता र नैतिकताको प्रदर्शन, काम गर्दा सधै सामाजिक न्यायमा जोड र आफु सम्बन्धित कार्यमा निपुण भएको हुनुपर्छ। नत्र सामाजिक कार्य सामाजिक कार्य नभएर अरु कार्य हुन् जान्छ र त्यसले सामाजिक कार्यको प्रकृति प्रति नै प्रस्न चिन्ह उठ्छ। छोटोमा भन्दा त्यो सामाजिक कार्य नभएर सामाजिक काम गर्छु भन्ने व्यक्ति र संस्थाको व्यक्तिगत उद्देश्य पूर्ति मात्र पुरा हुन् जान्छ र सामाजिक कार्य असामाजिक कार्य हुन् जान्छ। त्यसले झन् ति व्यक्ति र समाजलाई थप पिडा दिन्छ।

सामाजिक कार्य यति सुन्दर हुदाहुदै पनि हाम्रो देशमा भने सामाजिक कार्य जति सुन्दर हुनुपर्ने हो त्यति छैन कि भन्ने लाग्छ। बिद्यालयका गुरु/गुरुआमा देखि गैरसरकारी संघ संस्था र सरकारी संघ संस्था देखि राजनैतिक दलहरु सम्मकाको भूमिका पनि त्यति आशलाग्दो देखिन्न। भंनिन्छ अहिले हाम्रो देशमा समाज कल्याण परिषदमा दर्ता भएका र नभएका गरि ४५ हजार जति गैरसरकारी संस्थाहरु छन्। ति संघ संस्थाहरु सबैको मुख्य उद्देश्य सामाजिक वा समाज सेवा नै हो।

तर ति संघ संस्था कहाँ छन्, के गर्छन, लक्षित वर्ग र समुदायमा कति गएका छन, त्यो हामीले आफ्नै समाजमा आफ्नै आखाले देखेका छौ, कानले सुनेका छौ । यस्तै गोजी र झोली संघसंस्थाकै निम्ति मन्त्रीले सचिब कुटेको समाचारहरु पनि हामीले पढेकै छौ । अनि सामाजिक संघ संस्थामा सामाजिक कार्यकर्ता या कर्मचारीहरु कसरि छनौट हुन्छन त्यो सुनेकै छौ र प्राय समाचारमा पनि पढ्न पाएकै छौ। अनि ति संघ संस्थाले कसरि कार्यक्रम चलाउछन, के गर्छन, कति बिल पेश गर्छन, राजनैतिक दल र सरकारमा भएका मान्छेलाइ कसरि प्रभाबमा पार्छन त्यो पनि पढेकै छौ, सुनेकै छौ।

निस्कर्ष

सैदान्तिक र ब्यबहारिक कुरामा जे जति फरक भए पनि सामाजिक कार्य बिशेष गरि समाज र नागरिक प्रति समर्पित कार्य हो। यो व्यक्तिगत स्वार्थबाट सधै टाढा रहने गर्दछ। नेपालको बिकाशक्रममा सामाजिक सेवा तथा कार्यको पनि लामो इतिहास छ। विभिन्न कालखण्डमा धेरै अभियन्ताहरुले सामाजिक सेवाको लागि जीबन समर्पित गरेका हामीकहा उदहारणहरु प्रसस्तै छन्। हाल पनि यो क्रम जारि नै छन्।

तर चरम व्यक्तिगत, पारिवारिक, नातागत र धन कमाउने स्वार्थको राजनीतिक छायाले सामाजिक अभियन्ताहरुलाई छोपेको छ तर पनि अभियन्ताहरुको अभियानमा कुनै कमि आएको छैन। यो बास्तबमा एउटा पेशा पनि हो जसले बैज्ञानिक तरिकाबाट समस्याको समाधान गर्दछ । एक अर्थमा समाजलाई उन्नति तर्फ लैजानु र भड्केको मनलाई सिलाउनु नै सामाजिक सेवा हो। तसर्थ शुद्द मनले हामि जहाँ र जुन अबस्थामा छौ, समाज सेवामा लागौ। सम्पतिको नाममा जन्मदा हामि रित्तो आएका थियौ र मर्दा पनि रित्तै जाने हौ। तसर्थ सक्दो आफ्नो गाउ, ठाउ र समाजको लागि केहि गरौ, केहि दिऔ, तर ठाउँ गाउ बाट खोसेर केहि पनि नलिऔ।

(सामाजिक कार्य बिषयमा स्नातक गरेकी दिव्यानी घर्ति मगर मास्टर पहिलो बर्षमा अध्यनरत बिद्यार्थी हुन्)

११ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको