बैंकर अजय श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश


मङ्सिर ८, काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । श्रेष्ठ उच्च अदालत पाटनको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । तर, सर्वोच्च अदालतले भने १ करोड धरौटी तिराई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको आइतबारको इजलाशले श्रेष्ठलाई धरौटी तिराई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका कर्मचारी किरणकुमार बोहोरासँग पनि १ करोड धरौटी माग गरेको छ ।

पाटन उच्च अदालतले १२ असोज २०७६ मा थुनछेक आदेश जारी गर्दै पूर्व सीईओ श्रेष्ठसहित बैंकका कर्मचारी बोहोरा र सुरेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गर्न भनेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि असोज ८ गते उच्च अदालत पाटनमा १६ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको थियो ।

अदालतमा उपस्थित गराइएका प्रतिवादीमध्ये सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिधर थपलिया र कृष्णबहादुर कार्कीलाई सरकारी कागजात किर्ते मुद्दामा थप अनुसन्धान गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय झापाको अनुरोधानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा फिर्ता पठाइएको थियो ।

उच्त अदालत पाटनले प्रतिवादीहरु पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, बिभु बिक्रम पन्त, सुष्मा शाहसँग ४० लाख र प्रतिवादीहरु भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीबाट ७९ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

पुर्पक्षका लागि थुनामा पठाइएकामध्ये सुरेन्द्र श्रेष्ठले झुट्टा विवरण उल्लेख गरी जग्गा धितो राखेको उच्च अदालत पाटनको ठहर थियो । यस्तै, सर्वोच्चले धरौटीमा रिहा गर्न भनेका बैंक अफ काठमाडौंका पूर्व सीईओ श्रेष्ठले बैंकले स्वीकार गर्ने धितो यथार्थ हो–होइन, जाँचबुझ एकीन नगरी गलत विवरणको धितोको आधारमा कर्जा प्रस्ताव स्वीकृत गर्ने अन्तिम निर्णय गरेको गरेको पाइएको उच्च अदालत पाटनको ठहर थियो ।

बैंकका कर्जा प्रवाह शाखाका प्रबन्धकको हैसियतमा किरण कुमार बोहोराले झुट्टा विवरणको धितोको आधारमा कर्जा प्रस्ताव तयार गर्ने कार्य गरेको उच्च अदालत पाटनको ठहर थियो ।

८ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको