कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा !


असार ९, काठमाडौं । क्याप्टेन लिओनल मेस्सीको टिम अर्जेन्टिना क्वाटर फाइनलमा प्रबेश गरेको छ । कठिन अवस्थाबाट ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको हो ।

नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो ।

निकै कमजोर टिम कतारमाथि जित निकाल्न अर्जेन्टिनाका लागि लौटारो मार्टिन्जले खेलको पहिलो हाफमा १ गोल गरेका थिए । उनले खेल सुरु भएको चौथो मिनेटमै कतारी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।

कतारका डिफेन्डरले आफ्ना साथीलाई दिएको पास साथीसम्म पुग्न नपाई मार्टिन्जले नियन्त्रणमा लिएर सहजै गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । त्यसअघि कप्तान मेस्सी र अगुएरोले गोलका केही अवसर गुमाउँदा कतारी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको आक्रमण निस्तेज पारिदिएका थिए ।

दोस्रो हाफमा अर्जेन्टिनाले थप आक्रामक खेल खेल्यो । त्यस दौरान मेस्सीले केही राम्रा प्रहार गरे पनि बलले जाली चुम्न भने सकेन । तर, खेलको ८२औं मिनेटमा अगुएरोले आकर्षक गोल गरेपछि खेल अर्जेन्टिनाले २–० ले जित्यो ।

युवा फरवार्ड पाउलो डिबालाले यस प्रतियोगितामा पहिलोपटक बेन्चबाट खेल्ने मौका पाए । उनलाई खेलको ७६औं मिनेटमा गोलकर्ता मार्टिन्जको स्थानमा मैदान छिराइएको थियो । उनकै पासमा अगुएरोले गोल गरेका थिए ।

दोस्रो हाफमा कतारले थोरै मात्र गोलको मौका बनायो । एक सहज मौकामा उसका खेलाडी चुक्दा उसले ६१औं मिनेटमा खेल बराबरी गर्ने मौका गुमाएको थियो ।

यो जितसँगै अर्जेन्टिना समूह ‘बी’को उपविजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको छ । उसले तीन खेलमा एकमा हार, एकमा बराबरी र एकमा जित निकाल्दै ४ अंक बनाएर अर्को चरण पुग्यो । कोलम्बिया ३ वटै खेल जितेर शतप्रतिशत ९ अंक जोड्दै समूह विजेता बनेर अर्को चरण पुग्यो ।

यस समूहबाट २ खेलमा हार र एक खेल बराबरी गरेको कतार प्रतियोगिताबाट आउट भएको छ भने पराग्वेको उत्कृष्ट दुईमा रहेर अर्को चरण जाने अंकगणितीय सम्भावना जीवितै छ । तर, उसले अन्य समूहको अन्तिम नतिजासम्म पखिर्नुपर्छ ।

२०७६ असार ९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको