नेकपालाई नियन्त्रण गर्न राज्य अघि बढ्यो, अब ब्याक गियर लाग्दैन: प्रधानमन्त्री


चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा आउन बारम्बार सम्झाउँदा पनि नमानेपछि प्रतिबन्ध लगाउनु परेकाे दाबी गरेका छन्।

संघीय संसदको चालु अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले विध्वंम्सकारी गतिविधि गर्न सरकारले निषेध गरको स्पष्ट पारे।

त्यस्ता गतिविधि गर्न पाइंदैन भन्दा लोकतन्त्र धरापमा पर्यो भन्न नमिल्ने उनको तर्क थियो। चन्दाका नाममा लुटपाट गर्ने, निर्दोषलाई मार्ने काम गरेकाले लोकतन्त्र विरोधी गतिविधि गर्नबाट रोक्नका लागि राज्यले कानुन बमोजिम नियन्त्रण गर्ने उनको दाबी थियो। कृष्णको चक्र र रामको धनुवाँडको दृष्टान्त दिँदै उनले सम्झाउँदा नमानेपछि राज्य कानुन बमोजिम अघि बढ्ने स्पष्ट पारे। उनले भने, ‘राज्य नियन्त्रण गर्न लाग्यो। ब्याक गियर छैन। नियन्त्रण गर्छ गर्छ। यो आतंक। यो विध्वम्स। यो असम्बैधानिक र गैह्य कानुनी क्रियाकलाप।’

उनले सरकारले हतियार बुझाउन समय दिएको र तोकिएको अवधिमा नबुझाए सरकारले लिने चेतावनी दिए। उनले भने, ‘हतियार बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ। सरकारले लिन्छ। मान्छेहरुले भन्ने गरेका छन्। दुई तिहाईको, दुई तिहाईको। दुई तिहाईको सरकार हो। यसले जथाभावी हुन दिँदैन। संविधान अनुसार कानुनअनुसार सबै चल्नुपर्छ।’

उनले अशान्तिको श्रृंखला जारी राख्ने र विकासका काममा बाधा पुर्याउने तत्वका क्रियाकलाप अब मुलुकमा हुन नदिने प्रतिवद्धता जाहेर गरे। जनतामा निरासा फिँजाउन खोजिएको भन्दै उनले सरकारले त्यसो हुन नदिने बताए।

१० चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको