चैत १०, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ९ जना विरुद्ध आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ ।
नेता ओलीसहित ९ जनालाई अनुसन्धानका लागि ८ दिन म्याद थप गरेको छ । शुक्रबार राति ४ बजे काभ्रेबाट गिरफ्तार नेता सुदर्शनसहित ९ जनालाई जनतासँग नियमित राजनीतिक भेटघाटका क्रममा प्रहरीले गिरफ्तार गरेको थियो ।
ओलीसहित शंकर अधिकारी, विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, देव घिमिरे, लोकेन्द्र खड्का, सञ्जीव कार्की, ललित तामा, गाडी चालक धर्मराज राजवाहकलाई महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीलेपक्राउ गरेको थियो ।
उनीहरू सबैजनाविरुद्ध संगठित अपराधमा विष्फोट, हातहतियार तथा खरखजाना र कर्तव्य ज्यानसम्बन्धी अभियोग लगाइएको छ । उनीहरुलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ ।
अभियुक्तहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता राजु अधिकारीलगायतले बहसमा भाग लिएका थिए । जिम्मेवार राजनीतिक पार्टीलाई बिनाकानून मन्त्रिपषिद्को निर्णयको भरमा संगठित अपराध घोषणा गर्ने र प्रतिबन्ध लगाउन नमिल्ने बहसका क्रममा उनीहरुले जिकिर गरेका छन् ।
कुनै निजी कम्पनी वा व्यक्तिको निजी जीवनमाथि असर पुर्याउने कसुर गरेको भए त्यससम्बन्धी अलग्गै ऐन कानून रहेको भन्दै अन्तर्राष्टिय स्तरका अपराधीलाई झैं व्यवहार गर्नु कानूनविपरीत हुने जिकिर वकिलहरुले गर्दै आएका छन् ।
सबैजनाविरुद्ध गत फागुन १० गते साँझ ७२ अर्ब रुपैयाँ लाभकर छलेको आरोप झेलिरहेको नीजी क्षेत्रका मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको ललितपुरको नख्खुमा रहेको कार्यालयमा बम विष्फोट र त्यसमा परी एक जनाको ज्यान गएको घटनाबारे अभियोग लगाइएको छ ।
नेकपाका स्कुलिंग विभागका प्रमुख समेत रहेका नेता सुदर्शन माक्र्सवाद लेनिनवाद र माओवाद दर्शनका प्रखर अध्येता र वक्ता हुन् । जनयुद्धकाल समेत केन्द्रीय तहमा रहेर सफलतापूर्वक जिम्मेवारी निभाइसकेका नेता हुन् उनी ।
यसअघि चैत्र १ गते ललितपुरबाट गिरफ्तार परेका नेकपाका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लाई राजद्रोहको अभियोगमा काठमाडौंको टेकुस्थित प्रहरी परिसरको हिरासतमा राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस