सांसद शान्ता चौधरी र छाेरी बिनुले एकैपटक एसइईको परीक्षा दिँदै


चैत १०, दाङ । आजबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी भएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक समेत रहेका सांसद चाैधरी दाङ तुलसीपुरस्थित सेन्टर मावि तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षाको कोठा नम्बर ११ बाट दिएकी छन् । सांसद चौधरीको परीक्षा नम्बर ०५८८४५३ ग रहेको छ ।

उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन् । परीक्षाहलमा प्रवेश गर्नुपूर्व सांसद चौधरीले बाल्यकालको सपना पुरा हुन लागेको भन्दै खुसी साटिन्। बाल्यकालमा विद्यालय जान निकै तड्पिएको भएपनि आज त्यो सपना पुरा हुन थालेको उनले बताइन्।

उनकी १७ वर्षीया छोरी बिनु चौधरीले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्। विनु काठमान्डौंको आरुवारीस्थित सृजना बाल बोर्डिङ बाट परिक्षा दिदै छिन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् ।

३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढेकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढेपनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्।

१५ दिने सुत्केरीले पनि एसइई परीक्षा दिँदै

यसैगरी दाङकि १५ दिने सुत्केरी महिला एसइई परिक्षामा सहभागि भएकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहर निवासी शुसीला भण्डारीले सोही वडाको माबि सेन्टरबाट परीक्षा दिएकी हुन् ।

२५ बर्षीया भण्डारीले १५ दिने बच्चालाई लिएर परीक्षा दिईरहेकी छिन् । उनको बच्चालाई आफन्तले हेरिरहेका छन् ।

महेन्द्र माबिमा अध्ययन गरेकी उनको परीक्षा केन्द्र माबि सेन्टरमा परेको थियो । जीवनमा पढाई पनि महत्वपूर्ण हुने भन्दै आफु परीक्षामा सहभागि भएको उनको भनाइ छ ।

यस वर्ष परीक्षा सञ्चालनका लागि देशभर एक हजार नौ सय ६९ केन्द्र निर्धारण गरिएको छ । परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् ।

पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

१० चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको