चैत १०, दाङ । आजदेखि शुरु भएको एसइई परीक्षामा दाङमा १५ दिने सुत्केरी महिला सहभागि भएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहर निवासी शुसीला भण्डारीले सोही वडाको माबि सेन्टरबाट परीक्षा दिएकी हुन् ।
२५ बर्षीया भण्डारीले १५ दिने बच्चालाई लिएर परीक्षा दिईरहेकी छिन् । उनको बच्चालाई आफन्तले हेरिरहेका छन् ।
महेन्द्र माबिमा अध्ययन गरेकी उनको परीक्षा केन्द्र माबि सेन्टरमा परेको थियो । जीवनमा पढाई पनि महत्वपूर्ण हुने भन्दै आफु परीक्षामा सहभागि भएको उनको भनाइ छ ।
यस वर्ष परीक्षा सञ्चालनका लागि देशभर एक हजार नौ सय ६९ केन्द्र निर्धारण गरिएको छ । परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्नेछ ।
यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।
सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।
यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस