एनसेलमाथि आक्रमणको जिम्मा विप्लव नेकपाले लियो


फागुन १२, काठमाडौँ । दुईदिन अघि एनसेलका दर्जनौ टावरहरुमाथि देशैभरि गरिएको कारबाहीको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिएको छ ।

सो पार्टीले यसअघिपनि ऐनसेलमाथि भौतिक आक्रमण गरेको थियो । उक्त पार्टीले एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको आरोप लगाएको छ ।

उसले ऐनसेलले नेपालको अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको आरोप समेत ऐनसेल माथि लगाएको छ । नेकपाले यसअघिदेखि नै ऐनसेलमाथि निरन्तर आक्रमण गर्दै आएको थियो ।

यसैक्रममा फागुन १० गते राति पनि देशैभरि कारबाही गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । शनिबार रातीको ऐनसेलमाथिको कारवाहीमा ललितपुरमा भएको दुःखद् घटनालाई लिएर भने सो पार्टीले दुःख ब्यक्त गरेको छ ।

सो पार्टीले यस कारवाहीमा कुनै ब्यक्ति वा सर्वसाधारणप्रति लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको भन्दै उक्त दुर्घटनामा हुन गएको मानवीय क्षतिप्रति पार्टीपङ्क्ति दुःखित भएको जनाएको छ ।

ऐनसेलको ललितपुरको भैंसेपाटीस्थित मुख्यालयमा गराइएको बम विस्फोटमा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएकाछन् । घाइतेहरुको उपचार भइरहेको छ ।

विप्लव नेकपा श्रोतले भने ऐनसेल मुख्यालयको पर्खालमा मात्र बम हान्ने योजना रहेको तर राखिएको बम त्यहीँका सुरक्षागार्डले अन्तै सार्नेक्रममा बिस्फोट भएको जनाएको छ ।

२०७५ फाल्गुन १२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको