फागुन १२, काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि रेल चढेर भियतनाम प्रस्थान गरेका छन् ।
किम र ट्रम्पबिच भियतनाममा फेब्रुअरी २७ र २८ मा औपचारिक भेटवार्ता हुँदैछ । गएको वर्षको जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक भेटवार्ता गरेका किम र ट्रम्पबिच दोस्रोपटक भेट हुन लागेको हो ।
यो भेटमा सिंगापुरको ऐतिहासिक भेटवार्तामा भएको सहमतिको कार्यान्वयनको अवस्था र भावी रणनीतिबारे छलफल हुने र नयाँ सहमति हुने बताइएको छ ।
उत्तर कोरियाका नेता किम विशेष रेल चढेर शनिबार भियतनाम प्रस्थान गरेका हुन् । उनी चीनको सीमा क्षेत्र हुँदै भियतनामा पुग्ने छन् । आउँदो बुधबार र बिहीबार हुने भेटवार्तामा विश्व समुदायको चासो छ ।
भियनामको राजधानीमा हुने वार्ताका लागि नेता किम प्रस्थान गरेको उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यले पुष्टि गरेको छ ।
किमको साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस