प्रतिज्ञाको पाइला ‘खाली हात’ [भाग -३]


कर्मसही घर्ति मगर । ‘सानो घर थियो । छिमेकीहरूको घरको बीचमा । त्यो घर आमाले जोहो गरेर किनेकी थिइन् । म आठ वर्षको हुँदा गरिबी र रोगले आमा अकालमै बितिन् । म टुहुरो भएँ । छन त बुबा थिए । तर पनि उहाँ जेठी श्रीमतीसँग बस्ने भएकोले मेरो पीडा मसँग सिमित भयो । काल्दुङ्गमा बज्यै र लाटा मामा थिए । आमाको मरण पछि मलाई बज्यैले लिएर गए । म आमाको माइतीघरमा पालिएँ । उतै हुर्किएँ ।” शिवजीले विगत दिनको पर्दा उघारे । म दर्शक श्रोता भएर उनको स्मृतिको मञ्चमा मञ्चन विगत जीवन नियाल्न थालेँ ।

म उनको धुमिल स्मृतिमा हराएँ । हराइरहेँ । गत कार्तिक पच्चीस गते उनले भनेका कुराको स्मृति पर्दामा निमग्न भएँ । म उदास भएँ, उनको कुरामा । उनको मरेको विगतको प्रेतात्माले मेरो चैन भङ्ग गर्‍यो । म उदास मलामी झैँ निशब्द भएँ । अहिले यो पलमा म जे लेखिरहेको छु, थाहा छैन ! उनको जीवनको लगामले मलाई कहाँसम्म हिन्हिनाएर दाैड्न बाध्य तुल्याउने हो ? म साेँचमग्न छु ।

उनले भनेका थिए -‘ जीवनमा यति धेरै उदासीपना कहिल्यै भएन होला । त्यो मेरो जीवनको निकृष्टतम दिन थियो । जब मैले एउटी ममतामयी मातृत्व गुमाएँ तब बुबाको आत्मिय प्यार मैले कहिल्यै अनुभूति गर्न पाइनँ । म एक्लो भएँ । फगत एक्लो ….। ” लामो निस्तब्धताले केहि समय लियो हामी बीच ।

‘बुबाको सहानुभूति पाउनु भएन ?” मेरो जिज्ञासा तेर्सियो ।

‘बुबाको प्यार म कहिल्यै अनुभूति गर्न पाइनँ । प्यार पाएको भए आमाले आफ्नै परिश्रमले किनेको घर किन बेचि खाइदिन्थे र बुबाले….. !” उनले भने ।

‘बुढाले कतिमा बेचेछन् घर ?”

‘ उबेलाको तेईस सयमा ।”

उबेला आफु समाजमा अपहेलित भएर , हिनताबोध लिएर बाँच्नुमा आमाको मृत्युु पश्चात् बुबाको बेवास्ता रहेकोमा उनले अगाध दुखेसो पोखे । कयौं रात रोएर जाग्राम बसेको धुमिल स्मृति छँदै थियो । पटक पटक उनको मुखडामा उदासीपना देख्दा, उनका कुरामा उदास शब्द सुन्दा मलाई म आफैले रचेको कविता याद आयो । यो शिवजीकै लागि रचिएको जस्तो लाग्यो । भाव ठ्याक्कै मिल्यो । सो कविता यहाँ पनि प्रस्तुत छ -…

उदास जिन्दगी
*********

सिंयाल विनाको जोवन
धर्तीको नाङ्गो छातीमा
किन यसरी घुँक्कघुँक्क रोइरहेको छ ?
र किन रोइरहेको छ रात रातभर

एकनाशले
अलक्षिण जगाउने गरि
पल्लो घरको कुकुर ?
मनमा संत्रास छाएको छ !
मन बेचैनी भएको छ !!

प्रत्येक प्रहरमा
मनै चुँडिने गरि
जोड जोडले
किन गुन्जिरहेको छ कानमा बिप्या चाला ! ( मर्दा बजाइने उल्टो चाला )

किन नाचिरहेको छ प्रत्येक क्षण
आँखैको डिलमा फराउट्या !? ( मरेको मान्छेलाई स्वर्गको बाटो जान सहज बनाउन ढाल तरवारसँग नाचिने नाच )

किन जिन्दगी
रूख झैँ उजाडिएको छ ?
थोत्रो सारङ्गी झैँ
किन बजिरहेको छ यसरी
बेसुर बेसुरमा जिन्दगी !?

अरूलाई सुन्दर लाग्ने
यी अग्ला पहाड पर्वतहरू
किन पर्खाल झैँ भैरहेका छन्
मेरा लागि ?

म किन आफुलाई
बन्दी महसुस गर्दैछु
यही पर्खाल भित्र !!

कसले खोसिदियो होला
मेरो उन्मुक्त परिवेशलाई ?
कसले रोकिदियो
मेरो जून चुम्ने रहरलाई ?

र पछारेर छाड्यो
उदासीको रछ्यानमा !
जसको कारण
म अशक्त झैँ भैरहेछु !!

-२५ चैत्र , २०५३

युवावयमा म पनि उदासीन दिन व्यतीत गरेको थिएँ भन्ने प्रमाण हो यो कविता । कहिलेकाहीँ उदासीनता हरेक मान्छेमा छाउँछ । उदासीनता छाउनु आफैमा नराम्रो होइन । यो जीवन जिउने मामलामा सुखदुःख सर्वसुलभ पाइन्छ दुवै । कति आघात भयो होला उनलाई आठ वर्षको उमेरमा टुहुरा हुँदा । सोँच्दा र आफुलाई दाँज्दा मुटु काँप्न थाल्छ ।

आठ वर्षको उमेरमा बज्यैको साथ हिँडेका शिवजी बार वर्षको हुँदा काल्दुङ्गकै राजधर्मको भेँडी गोठाला हुन गए । दर्मामा । दर्मा भनेको एक/दुई सिजन गोठाला बसे बापत भेँडी नै पाइने प्रथा हो । यसमा तलबको कुरा हुँदैन । उनले पाँच महिना दर्मा बसे पश्चात् एउटा भेँडाको पाठा पाए । त्यो पाठा बज्यैलाई स्याहार्न दिए । एकदिन ईमका बात्या साहू आए । उनले शिवजीकी आमाले लिएको ऋण हिसाब मागे । एक सय साठी रुपैयाँ रहेछ । बज्यैले त्यही पाठा साहूलाई बुझाइ दिए । यो दृश्य शिवजीको लागि भयानक कारुणिक लाग्यो । उनको बाल मस्तिष्कमा नराम्रो छाप पर्‍यो । उनको मन भित्रभित्र निकै रोयो । तर आमाको ऋण तिर्न पाएको कुराले भने हर्षाश्रु झारे । बार वर्षको कमाइ ‘पहिलो गासमै ढुङ्गा” भयो ।

अर्को साल पनि भेँडी गोठाला हुन राजी भए । गए । तर यसपाली भने दर्मा हैन । रकम नै लिए । अब तेह्र वर्षको केटाले गर्ने के ? मन अनियन्त्रित भयो । भेँडी ग्वाला बसेर जीवनको मदानी नचल्ने सोँचे । जीवनको यात्रा बदल्न हरदम बाटोहरू खोजिरहे । साथीहरूको सङ्गत लागेर पोखरा लागे , मजदुरी गर्न । भेँडा ग्वाला भएर कमाएको पैसा बाटा खर्च लिएर गए । सुन्दर जीवनको परिकल्पना साथ ।

बार तेह्र वर्षको उमेरमा गर्न सक्ने के त ? कुनै काम पाएनन् । आज पाइन्छ कि भनि कामको खोजिमा हिँडे । भोली पाइन्छ कि भनि पर्खे । तर उनले कामै पाएनन् । अर्थात बच्चा देखेर कामको लागि उनी योग्य ठानिएनन् । ग्वाला भई कमाएको पैसा उतै स्वाहा बनाई अन्ततोगत्वा गाउँ फर्के । झनै हात लाग्यो जिरो भयो ।

गाउँ फर्के पछि रानो विनाको माहुरी भए । एक्लै जन्मेका उनी एक्लै थिए । एक्लै भुन्भुनाइरहे । कहिले यो घारमा । कहिले ऊ घारमा । उनको दयनीय दिनचर्या यसरी नै बित्यो । केही समयको बादमा आफ्नै फुपू रथना पुनको घरमा काम गर्न बसे । फुपूले एउटा चाैबन्दी र खाडीको गादा बनाइ दिए । कमाएर लुगा किन्ने औकात नभए पछि , उनले एक सरो लुगा फेर्नको लागि काम गरेका थिए । झिना मसिनादेखि गाह्राे काम सबै गरे । पाँच महिना पछि फुपूको घरबाट बिदा भए ।

यो गरूँ कि ऊ गरूँ ! यता जाऊँ कि उता जाऊँ ? बडो खराब दिनमास थियो , उनको लागि । मैकोटबाट एक डेढ घण्टा टाढा पुषरका जगत पुनको घरमा चाैध वर्षको उमेरमा कामदारको रूपमा गए । चार महिना काम गरे । सजिलो काम गरे । मझौला काम गरे । निकै गाह्राे काम गरे । निस्किने बेला एक पैसा पनि पाएनन् । कयौंपटक मागे , दिएनन् । जगतको पनि स्थिति खस्किसकेको थियो । अन्तमा उनले श्रमको पैसा माया मारे । उनी भन्छन् -‘अहिले त माग्नु पनि भएन । उबेलाको कुरा , सकियो । ”

लगत्तै फेरि पोखराको भूतले लखेट्यो । पोखरा गए । काम पाएनन् । सानो उमेरको मान्छेलाई कुनै ठेकेदारले काम दिन मानेनन् । हप्ता दिन भोकभोकै रहे । दिउँसो महेन्द्रपुल घुम्न जान्थे । साँझपख उबेलाको पृथ्वीचोक , अहिलेको चाइनाचोकमा आएर कसैको टीनको टहराको छतमै रात बिताउँथे । उनको लागि कलिलो उमेर बाधक जस्तै भयो । भोकले आक्कुलब्याकुल उनी लाज पचाएरै भए पनि एकदिन ठेकेदारकाई भने – ‘ दाइ , म भोकले मर्न आँटेँ , मलाई काम गर्न दिनुस् । म ज्याला लिँदिनँ । खाना मात्र दिनुस् ! ”

उनको निर्दोषपना देखेर ठेकेदारले दिनको पच्चीस रुपैयाँ दिने वचन दिए ।

शिवजीले प्रति दिन पच्चीस रुपैयाँमा काम गरे । छिन्न लागेको प्राण पखेरु पुन: पलायो । अब नमरिने भयो भनेर ढुक्क भए ।

खुरुखुरु काम गर्दै पापी पेट पाल्दै गर्दा कसैले जोमसोममा दिनको पचास रुपैयाँमा काम पाइन्छ भनेर लाइदिए । अब जीउ तङ्ग्रिसकेको थियो । जोमसोमको लोभ लाग्यो । दिनको पचासले जीवनको काँचुली तै तै फेरिन्छ कि भनि धारागाउँका नरमान पुनसँग जोमसोम लागे । यी शिवजीलाई जाँतोमा पछार्ने उनै नरमान थिए ।

जोमसोम गएको नाैं दस महिना बितिसक्दा पनि काम पाएनन् । कहिले कसो गरेको कामकै भरमा पेट पाल्नु मात्र भयो । जे सोँचेर पोखरा जोमसोम आएका थिए , त्यस्तो हुँदै भएन । जीवनमा विपत्ति सिवाय केही रहेनछ भन्ने सोँचे । एकदिन जसोतसो बाटा खर्च बनाएर घर फर्के । रित्तो मन लिएर…..!

क्रमश: …………….!

लेखकका सम्बन्धित लेकहरु

प्रतिज्ञाको पाइला ‘पीडा र पाण्डुलिपि’ [भाग -२]

माघेसंक्रान्ति बिशेष ‘प्रतिज्ञाको पाइला’ [भाग -१]

२०७५ माघ १०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको