रोल्पाकी १० वर्षीया बालिका ‘सुन्तला बेचेर पढाइ खर्च जुटाउदै’


महेश न्यौपाने/माघ १०, रोल्पा । रोल्पा नगरपालिका १० धवाङकी १० वर्षीया लक्ष्मी घर्ती विद्यालय नखुलेको दिन सधैँजसो बिहानै डोकोमा सुन्तला बोकेर लिवाङ जान्छिन् । डोकाभरि सुन्तला बोकेर घरबाट लिबाङ आउन उनलाई २ घण्टा समय लाग्छ । दिनभरी चिसो भुईमा बसेर ग्राहकको प्रतिक्षामा हुन्छिन् ।

कहिले सवै सुन्तला बेचेर फर्कन्छिन् त कहिले बचेको सुन्तला समेत साथमै लिएर बेलुकाको अध्यारो भएपछि घर फर्कन्छिन । दिनभरी सुन्तला बेचेर जम्मा गरेको पैसाले कहिले घरका लागि नून तेल, चामल लैजान्छिन् भने कहिलेकाँही आफुलाई चाहिने कापी कलम पनि साथमै लिएर फर्कन्छिन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययन गर्ने उनले ड्रेस, परीक्षा शुल्क समेत सुन्तला बेचेर व्यवस्थापन गर्दै आएकी छिन् । उनका बुवा चित्रवहादुर वैदेशिक रोजगारीमा छन् । ‘विदेशमा बुवाको कमाई त्यती राम्रो नहुँदा भनेको समयमा पैसा आउदैन । ऋण गरेर विदेश गएका कारण उतावाट आएको पैसा ऋण तिर्न पुग्दैन’ – उनले भनिन् ।

लक्ष्मीमात्रै होइन घरको आर्थिक अवस्था कमजोर भएका लक्ष्मी जस्ता धेरै बालवालिका सुन्तला बेचेर घरको दैनिकी चलाउदै पठनपाठनलाई समेत अगाडी वढाउन बाध्य छन् । विद्यालय खुलेको दिन पढ्न गए पनि बिदाको बेला भने अधिकांश बालबालिका सुन्तला बिक्री गर्न सदरमुकाम आउने गर्छन् । दिनभरी सुन्तला बेचेर घर फर्कदा कहिले ५ सय त कहिले १५ सय रुपैयाँसम्म हात पार्छन् । ‘दिनभरको कमाई सरदर १ हजार जती हुन्छ’– रोल्पा नगरपालिका १० धबाङका वसन्त घर्तीले भने । ‘बिहान मिर्मिरेमा घरबाट निस्कन्छौ बेलुका रातपरे पछि घर फर्कन्छौं ।’

गाउँमा भरखरै देखि गाडी चल्न थाले पनि महङ्गो भाडाका कारण पैदल आवत–जावत गर्न बाध्य भएको उनीहरु बताउँछन् । ‘सुन्तला बेचेको पैसाले गाडीको भाडा तिर्न पुग्दैन कसरी गाडी चढौं’– स्थानीय सर्मिला महराले भनिन् ।

विद्यालय उमेरका यस्ता बालबालिकाहरु पढ्नुका साटो दुई चार पैसाका लागि घण्टौ पैदल हिडेर सुन्तला बेच्न वाध्य छन् । विद्यालय खुलेको समयमा साँझ विहान घरको काम गर्ने र विद्यालय वन्द भएको बेला सुन्तला बेच्न जानु पर्ने वाध्यताले उनीहरुको पढाइ समेत सुधार हुन नसकेको अभिभावक सर्मिला महराको भनाई छ । ‘ सधै काममा व्यस्त रहदा गृहकार्य पनि गर्न भ्याउदैनन्’– महराले भनिन ।

सरकारले सुन्तला संकलनको आवश्यक व्यवस्था गरे घण्टौको पैदल यात्रावाट सदरमुकाम आउनु पर्ने वाध्यता हट्ने स्थानीयहरुले आशा गरेका छन् । उचित बजार मूल्य गाउँमै पाउन सके डोको वोकेर घण्टौ हिड्ने समस्या हल हुने उनीहरुले आशा गरेका छन् ।

सुन्तलाको सुरक्षित भण्डार र संकलनका लागि आफुहरुले सहयोगको प्रयास गरेको रोल्पा नगरपालिका १० का वडाध्यक्ष मानवहादुर खत्रीलेबताए । ‘स्थानीय निर्वाचन पूर्व पनि विभिन्न कार्यालय र संघ संस्थाको सहयोगमा भण्डारण तथा संकलन केन्द्र बनाए पनि थोरै थोरै सुन्तला बोकेर सदरमुकाम आउने चलन हटेन’– अध्यक्ष खत्रीले भने । ‘सुन्तलालाई व्यवसायिक उत्पादन गरि यसको संकलन केन्द्र र भण्डारणका लागी विशेष कार्यक्रम ल्याउने सोच वनाएका छौं ।’ -एजुकेशन पाटी

१० माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको