कात्तिक ६, पोखरा । साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।
को हुन् केसी ?
कास्की क्षेत्र नं २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ ।
उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्।
गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन्।
उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।
प्रतिक्रिया दिनुहोस