रोल्पाको ‘स्मार्ट कृषि गाउँ’मा फल्ने अर्गानिक स्याउ [१४ तस्बिर हेर्नुहोस]


साउन ०७, रोल्पा । पश्चिम रोल्पाको साबिक जिनाबाङ्गका कृषकहरु खेतीमा अगाडी छन् । बिगत देखिनै खेती तथा उत्पादनलाई बिशेष महत्व दिंदै आएका त्यहाँ किसानहरु अहिले स्मार्ट कृषि गाउँ निर्माणमा जुटेका छन् । त्यहाँ फल्ने अर्गानिक स्याउले कृषकहरुको जिबन स्तरलाई सुधार गर्दै आएको छ ।

गंगादेव गाउँपालिका ३ मनिमारे रोल्पाका किसान भीमबहादुर खत्रीको तन जता भए पनि मन भने दिनराति बारीमै डुलिरहेको हुन्छ । बारीमा फलेका लटरम्म स्याउको दानाले उहाँको निद्रा भगाइदिएको छ । गत बर्ष ८ लाख रुपैयाँको स्याउ बिक्री गरेका खत्री अहिले १६ लाख जतिको स्याउ बिक्री गर्ने आशामा हुनुहुुन्छ ।

स्याउका बुटा बढेका छन् भने बुटाका स्याउ पनि उत्तिकै बढेका छन् । त्यसैले १५÷१६ लाखको स्याउ यो बर्ष बिक्री गर्न सकिन्छ भन्ने खत्रीको आशा छ । त्यसका लागि उहाँले सम्पूर्ण तयारी गरिरहनुभएको छ । अबको केही दिनमै स्याउ टिप्ने सिजन शुरु हुन्छ । उहाँको परिवार अहिले त्यसकै ध्याउन्नमा छ । अहिले भीमबहादुर खत्रीको फार्ममा स्याउका बोट १ हजार २ सय पुगेका छन् । हरेक बर्ष स्याउ खेती बढ्दै गएपछि अब स्याउबाट आर्थिक उपार्जन गर्न सकिन्छ भन्नेमा त भीमबहादुरसहितका यहाँका किसानहरु ढुक्क नै देखिन्छन्, बरु पछिल्लो समय उनीहरु आफ्नो प्रगति अरुलाई देखाउने र उनीहरुले पनि केही सिकून् भन्ने चाहनामा छन् ।

अब यहाँ स्याउँ खेतीसँगै कृषि पर्यटनको पनि विकास गर्न सकिन्छ कि भन्ने संभावनाको खोजी थालिएको छ । फलस्वरुप यहाँका किसानहरुले आफ्नो फार्ममा नै पर्यटनको नाम जोड्न थालेका छन् । भीमबहादुर खत्रीले श्रीमति लक्ष्मी र आफ्को नामसँग जोडेर उहाँले ‘लभी पर्यटन व्यवसायी स्याउ खेती फार्म’ राख्नुभएको छ ।

भीमबहादुरको फार्मसँगै जोडिएको दक्षिणतर्फको फार्म हो– रामबहादुर खत्रीको । उहाँले पनि ‘रामभूमि पर्यटन स्याउ खेती फार्म’ मार्फत स्याउ खेती गरिरहनुभएको छ । उहाँको फार्ममा झण्डै ८ सय बोटमा लटरम्म स्याउ फलेका छन् । ‘स्याउ खेती त राम्रो भइसक्यो, यहाँको स्याउ देशका विभिन्न कुनामा पुगिरहेको छ र यसबाट आम्दानी पनि आइरहेको छ’– खत्री भन्नुहुन्छ– ‘तर, अब स्याउको बुटामै ग्राहक आएर स्याउ खाने वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य छ ।’ स्याउ खेतीको पकेट क्षेत्र यो ठाउँलाई कृषि पर्यटनको गन्तव्य बनाउने सपना स्थानीयले देख्न थालेका छन् ।

रामबहादुर खत्रीकै फार्मनजिक गंगाराम खत्री र देउमति खत्रीले पनि स्याउ खेती गरिरहनुभएको छ । झण्डै एक हजार बोट स्याउ खेतीको फार्म चलाएको यो दम्पत्तिले फार्मको नाम राखेको ‘गंगा–देउस्थल स्याउ खेती पर्यटन फार्म ।’ यसका सञ्चालन देउमति खत्रीको आशा पनि अब स्याउ खेतीलाई कृषि पर्यटनको रुपमा विकास गर्ने नै रहेको छ ।

नमूना खेतीको अध्ययन गर्न विभिन्न जिल्ला पुगेको बताउने यहाँका किसानहरुले अब अन्य जिल्लाका किसान र कृषिप्रेमीहरुलाई रोल्पा पु¥याउने सपना देखिरहेका छन् । ‘हामी चियाँ बगान हेर्न इमाल पुग्छौं, नमूना कृषि हेर्न पाल्पाको मदनपोखरा पुग्छौं तर स्याउ खेतीको नमूना देखाउन हामी पनि कम छैनौं’– फेरि भीमबहादुर खत्री थप्नुहुुन्छ– ‘त्यसैले अब हामी पनि स्याउको उत्पादन बढाउँदै यसलाई कृषि पर्यकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं ।’

कृषि स्मार्ट कार्यक्रम

स्मार्ट गाउँले बढाएको आशा स्याउको सिजनमा यो पंक्तिकार यो ठाउँ पुग्न थालेको यो लगातार चौथो बर्ष हो । तर, यसअघिका भन्दा यो बर्ष किसान अलि फरक मुडमा भेटिए । उतिबेला पत्रकारसँग गुनासो नै गुनासो गर्ने यहाँका किसानहरुले राज्यबाट आफूहरु ठगिएको बताउँथे । तर, यसपटक भने उनीहरुले आफूहरु विस्तारै राज्यसँग जोडिदै गरेको र आफूहरुलाई पनि राज्यले सम्झन थालेको भन्दै उत्साह व्यक्त गरे । यसको प्रमुख कारण हो– प्रदेश सरकारले घोषणा गरेको कृषि स्मार्ट कार्यक्रम ।

प्रदेश नम्बर ५ ले गत आर्थिक बर्षमा ५२ वटा प्रदेश निर्वाचन क्षेत्रमा एक एक वटा कृषि स्मार्ट गाउँ घोषणा गरेर झण्डै ५० लाख बजेट दिएको थियो । प्रदेशसभा सदस्यहरुको सिफारिसमा लागु गरिने यो कार्यक्रम यस क्षेत्रका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’को सिफारिसमा यो गाउँ छनौटमा परेको छ । जम्मा ९९ घर परिवारका २ सय ३५ महिला र २ सय ५९ पुरुष गरी ४ सय ९४ जना यो कार्यक्रममा समेटिएका छन् । यो कार्यक्रम लागु भएपछि सँधै राज्यले उपेक्षा गरेको गुनासो गर्ने यहाँका किसानमा विस्तारै आशा र उत्साह पलाउन थालेको छ ।

कृषि स्मार्ट गाउँअन्तर्गतको ५० लाख र गंगादेव गाउँपालिकाका १२ लाख गरी ६२ लाखको लगानीमा यहाँका किसानहरुले धेरै काम गरिसकेका छन् । ढिलोगरी कार्यक्रम आएकाले गत बैशाख ८ गतेदेखि मात्रै कार्यक्रम लागु भए पनि तीन महिनाको बीचका यहाँका किसानले धेरै काम गरिसकेको छन् । जसबाट २० वटा पक्की पोखरी निर्माण गरिएका छन् ।

गजब त के छ भने ती पक्की पोखरीमा किसानले छानाबाट पाइप जोडेर आकाशे पानी जम्मा गर्ने गरेका छन् । झण्डै पचास हजार लिटर क्षमताका यी पोखरीमा जम्मा भएको पानीबाट सिचाइको ब्यवस्था गर्ने उनीहरुको सोच छ । त्यसो त यही बजेटबाट दश किलोमिटर टाढा रहेको मुहानबाट पानी पनि गाउँमा ल्याइसकेका छन् । त्यस्तै ४४ घरमा सुधारिएको भकारो बनाइएको छ, जसबाट गोबर र मूत्र फरक ठाउँमा जम्मा हुने भएकाले पशुको मूत्रबाट जैबिक बिषादी पनि बनाउने गरिएको छ । त्यस्तै रायोका साग सुकाउने त्रिपाल, हाते टंकी, फोहर ब्यवस्थापनका लागि डस्टबीन, स्याउ काट्न औजार र स्याउन जम्मा गर्ने २ सय ५० वटा क्यारेट पनि किसानले यही कार्यक्रमबाट पाएका छन् । अब उन्नत गाइ भित्र्याउने र चक्लाबन्दी गरेर स्याउ खेती अझै व्यवस्थित गर्ने स्मार्ट कृषि गाउँ कार्य समितिका सदस्य सचिव कुलबहादुर केसीको भनाइ छ ।

एउटै वडामा बर्षेनी भित्रिन्छ दश करोड

गंगादेव गाउँपालिका वडा नम्बर ३ का विभिन्न गाउँमा गरी बर्षेनी कृषि उत्पादनबाट दश करोड भित्रने गरेको छ । यो वडाका झण्डै चारसय परिवारले स्याउ खेती गरिरहेको कृषि सञ्जाल गंगादेवका अध्यक्ष रामबहादुर खत्रीले बताउनुभयो । यो वडा तीन वटा उत्पादनका लागि देशभरि नै प्रशिद्ध छ । आर्थिक उपार्जनका हिसाबले स्याउ खेती भने तेस्रो स्थानमा पर्दछ ।

यो वडामा सबैभन्दा बढी आलु खेतीबाट झण्डै ६ करोड रुपैयाँ भित्रने गरेको छ । गाउँमा बीस रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्दा पनि झण्डै ६ करोडको आलु निकासी हुने अनुमान गरिएको यहाँका किसानहरु बताउँछन् ।

त्यस्तै दोस्रो उत्पादन हो– रायोको बीउ । यो बर्ष मात्रै यो वडाबाट तीस टन रायोको बीउ निर्यात गरिएको छ । जसबाट साढे एक करोड आम्दानी गाउँ भित्रिएको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका अगुवा किसान लोकमान ओलीले जानकारी दिनुभयो ।

तेस्रो स्थानमा रहेको स्याउ खेतीबाट एक करोडको हाराहारीमा पैसा गाउँ भित्रन किसानहरुको आशा छ । यो रकम पनि प्रति बर्ष बढ्दै गएको छ ।

भद्रता र विज्ञता बढाउने लक्ष्य आगामी बर्ष अधुरा काम पूरा गर्ने दिशामा अघि बढ्ने कृषि स्मार्ट गाउँको लक्ष्य छ । ‘धेरै पुराना काम बाँकी छन्’– कृषि स्मार्ट गाउँ सञ्चालन समिति संयोजक प्रेमबहादुर ओली भन्नुहुन्छ– ‘अब पूर्ण जैबिक खेतीतर्फ सोचेका छौं, अब हाम्रो कार्यक्रम त्यसतर्फ लक्षित हुनेछ ।’

उहाँले प्रबिधि प्रयोगमा पनि जोड दिने नीति लिइएको बताउनुभयो । त्यति मात्र होइन किसानको संस्कार पनि बदल्ने कार्यक्रमको सोंच छ । ‘हामीले कृषि स्मार्ट गाउँ भनेका छौं, स्मार्ट भनेको ख्याल ठट्टा होइन धेरै कुरा स्मार्ट हुनुपर्छ’– उहाँले भन्नुभयो– ‘सबैभन्दा महत्वपूर्ण कुरा त किसानहरुको सोंच, शैली र व्यवहार स्मार्ट हुनुपर्छ, त्यसका लागि पहल गर्ने छौं ।’

अन्य ठाउँका किसान र स्मार्ट गाउँका किसानबीचको बानी व्यवहार पनि फरक हुनुपर्ने उहाँको भनाइ छ । ‘अब यहाँका किसान भद्र र बिज्ञ हुनु जरुरी छ’– उहाँले थप्नुभयो– ‘सँधै आफै सिकिरहने होइन, अरुलाई सिकाउने हैसियतमा यो गाउँ पुग्नुपर्छ, अनि मात्र स्मार्ट गाउँ बन्छ र यो धेरैका लागि अध्ययन गर्ने थलो पनि हुन्छ ।’ किसानको सोंच र शैली बदल्ने, होमस्टे बनाउने र जथाकसहितको पर्यटकीय क्षेत्रलाई कृषि पर्यटनसँग जोडेर लैजाने यहाँका किसानको योजना छ ।

अझै बाटोकै पिरलो

दाङबाट सल्यानको कपुरकोट वा रोल्पाको होलेरीहुँदै निगालपानी–कोइलाहुँदै झ्यामसम्म जाने बाटो निकै राम्रो बनिसकेको छ । यो बाटो कालोपत्रे नभए पनि आवागमन सहज छ । दाङबाट तीन घण्टामा झ्याम पुग्न सकिन्छ । झ्यामबाट अलि अघि बढेर दायाँतिर जानेबित्तिकै स्याउका बारीले स्वागत गर्न शुरु गर्छन् । तर, बाटो भने सोचेजस्तो छैन ।

झ्यामदेखि मनिमारे–नाउलीसम्मको सडक राम्रो हुन सकिरहेको छैन । झ्याम–मनिमारे–पारेखण्डको झण्डै ८ किलोमिटर सडक विस्तार गरेर कालोपत्रे हुनेबित्तिकै यहाँको धेरै समस्या समाधान हुने स्थानीय किसानको अपेक्षा छ । यसका लागि गत बर्ष विस्तृत अध्ययन गरिएकाले प्रदेश सरकारले आफ्नो कृषि स्मार्ट गाउँसम्म बाटो पु¥याइदिए यहाँको समृद्धिमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

मनिमारेको ऐतिहासिकता

वस्तीको बीचमा रहेको मनिमारेको चौरसँग ऐतिहासिकता पनि जोडिएको छ । त्यसैले पनि यो ठाउँलाई युद्ध पर्यटनसँग जोड्न सकिने संभावना पनि छ । २०६२ मंसिर १४ गते यो चौरमा तत्कालीन शाही सेनाले ठूलो हवाइ हमला गरेको थियो । जसमा परी तत्कालीन जनमुक्ति सेनाका डिभिजन कमाण्डर किमबहादुर थापा (सुनिल) र बटालियन सह कमाण्डर झक्कुप्रकाश पुन ‘निर्मम’को ज्यान गएको थियो । जनमुक्ति सेना नेपालको प्रथम डिभिजन घोषणा कार्यक्रम चलिहरेको बेला हवाइ हमला भएको थियो ।

हालका बिद्रोही नेता नेत्रविक्रम चन्द ‘विप्लव’, उपराष्ट्रपति रहेका तत्कालीन जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ र हाल विप्लव नेकपामा रहेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका नेताहरुको उपस्थितिमा डिभिजन घोषणा भइरहेको बेला कार्यक्रम उद्घोषक रहेका डिभिजन कमाण्डर सुनिल हवाइ हमलामा मारिएका थिए ।

जनयुद्धको क्रममा जनसेनामार्फत मारिने सुनिल नै उच्च पदका व्यक्ति हुनुहुन्छ । उहाँको जम्नस्थल रहेको गाउँपालिकाको नाम सुनिलस्मृति राखिए पनि उहाँ मारिएको ठाउँको ऐतिहासिकता कायम गरी त्यसलाई युद्ध पर्यटनसँग जोड्न भने मनिमारेबासी पछि परेका छन् ।

यो क्षेत्रलाई कृषि पर्यटनको गन्तव्य बनाउने आशामा रहेको किसानहरुले मनिमारेको ऐतिासिकता पनि जोड्न सके पर्यटन प्रबर्धनमा बल पुग्ने देखिन्छ ।

शब्द÷तस्विरः कुलदीप न्यौपाने

 

७ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको