अब आँट गर्नुस कामरेड, ‘गणतन्त्र सर्बहारालाई बुझाई दिउ’


टिकाराम वली । आज मेरो जन्मदिनमा, मैले बाल्यकाल देखि कल्पना गर्दै आएको परिवर्तनले झस्कायो । साँच्चै कहाली लाग्दा दिनहरू थिए ! कयौं सपनालाई थाँतीराखेर नेतृत्वहरुलाई गरिएको बिश्वास अझै ताजै बनेर आउँछ । आसा गरेका नेतृत्वहरु एउटै थालमा खान खाएका नेता कार्यकर्ताहरु अहिले विभिन्न समुहको नामले परिचीत छन् ।

सहिदको चिहान माथि खाएको कसम । कहाँबाट टुटफुट र गुटमा आयो । आज साच्चिकै कम्युनिस्टहरुले समिक्षा गर्नुपर्ने अनिवार्य भएको छ ।

हिजो एउटै बिस्तारामा आँसुको धारा बगाउने । एकले आर्कोको सहारा लिने । सबैले समाजवाद खोज्ने र न्यायको निम्ति लड्ने नेता र पार्टी किन दुश्मनी बढेको होला ? त्यत्रो जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने क्षमता भएको प्रचण्ड कमरेडले आज आफ्नै सहयात्रीहरुलाई किन मिलाउन नसक्नु भएको होला ?

आफ्नै टाउकाको मूल्य तोक्नेहरुलाई एउटै पार्टीमा मिलाउन सक्नेले संगै लडेका मन मिल्ने, भाबना मिल्ने, बिचार मिल्ने सहयोद्दहरुलाई किन मिलाउन सक्नु भएन होला ? हामी युद्द लडेका कार्यकर्ताहरुले निन्द्रामा पनि सपना देख्ने बिषय बनेको छ ।

साच्चिकै फेरी ति हस्तीहरु एक ठाउँ रहने हो भन्ने हामीले चाहेको के पुरा हुँदैनथ्यो होला र ? प्रचण्ड कमरेडको नेतृत्वमा अथाह संभावना बोकेका नेताहरुको जन्म पनि भएको हो । तमाम क्षमता भएका नेताहरू जन्माउने नेतृत्वले तिनै नेतृत्वहरुलाई फेरी एउटै थलोमा राख्ने दिन कहिले आउँछ ?

देशमा कार्यकारी प्रधानमन्त्री आज कम्युनिस्ट पार्टीकै शक्तिशाली अध्यक्ष केपी वलीले सरकारको नेतृत्व गरिरहदा देशले ठुलो अपेक्षा राखेको बिर्सनु हुदैन ।

बिगतमा यो गर्मीको समयमा लोडसेडिङ हुँदा विरुद्धमा उठ्ने आवाजहरु आज सामसुम छन् । यो देशले पाएको सफलता हो ।

त्यहीँ लोडसेडिङ हटाउने साहसीक नेता जनार्दन शर्मा त्यतिबेलाको भुमिकाको सम्मान हुनुपर्छ । अध्यारोसंग संघर्ष गरेका जनताले अहिले लोडसेडिङ भोग्नु परेको छैन । हालका श्रम मन्त्रीको भुमिका पनि केहि सकारात्मक छ । श्रम एन २०७४ र सामाजिक सुरुक्षा एन २०७५ मात्र लागु गर्न सके लाखौं श्रमिकले इतिहासमा कहिले नबिर्सिने नाम रहनेछ ।

अब अध्यक्ष प्रचण्ड कमरेडले आफ्नो सहयात्रीहरुको मागलाई सम्बोधन गर्दै एउटै कम्युनिष्ट पार्टी जनता र राष्ट्रको हितमा उभिने पार्टी बनाउने आँट गर्नुपर्छ ।

किन भने युद्धको सपना परिवर्तन सहितको मानव बन्ने थियो । आन्दोलनको सपना व्यवस्था परिवर्तन सहितको राज्य निर्माण गर्ने थियो । आज मदन भन्डारी बाचेको भए लुटेराहरुले देश लुट्न पाउने थिएन कि भन्ने आम बुझाइ छ । सर्वहारा वर्ग दास बन्नु पर्ने थिएन कि भन्ने छाप अझै देखिन्छ।

सायद कामरेड प्रचण्ड र केपी ओलीहरुले देश परिवर्तनलाई गतिदिएको भए, यस्ता प्रश्न र बुझाईहरु जन्मिने पनि थिएनन । नेतृत्वमा देखिएका कमजोरीका कारण यस्ता बुझाईहरु आउनु स्वाभाविक मान्न सकिन्छ ।

हामीले परिवर्तनको सपना देखेको पनि झन्डै दुई दसक बिते । ति कहालीलाग्दो दिनहरु, नेतृत्वहरुको बर्गप्रतिको माया साच्चिकै गर्भगर्न लायक इतिहास थियो । बर्गिय माया, नेतृत्व प्रतिको विस्वास निस्वार्थ भावना । समाज प्रतिको बुझाइ साँच्चै गहिरो सम्बन्ध थियो ।

हाम्रो पुस्ताले गरेको संघर्ष हो ‘गणतन्त्र’ । संविधान सभा र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, मुख्य मन्त्री देखी स्थानीय जनप्रतिनिधि सम्म ।

हाम्रो पुस्ताले के गरेन ? मुक्ति युद्ध गर्यो । गल्ली-गल्लीमा बिद्रोहको मसाल बाल्यो। सडकमा राजतन्त्र विरुद्ध नारा घन्कायो । भोको पेट, रित्तै खुट्टा टालेको कपडा, आफ्ना सबै व्यक्तिगत इच्छा चाहना छोडेर गणतन्त्र जिन्दवाद भन्दै सडकमा भौतारियो । जनताको सुन्दर जनवादी व्यबस्थाको परिकल्पना गर्‍यो।

तर तिनै सडक मान्छेहरुको लागि गणतन्त्र भएन । भुई मान्छेहरुलाई गणतन्त्र अझै आएनन, यो धुर्ब सत्य हो।

सडक पेटीमा बस्नेहरुलाई सोध्नुहोस्, उनलाई गणतन्त्रको आएको छ कि छैन ? घाइते, सहिद परिवारलाई सोध्नु, उनले चाहेको गणतन्त्र आयो कि आएन ?

बुर्जुवा शिक्षाको सर्टिफिकेट च्यातेर युद्दमा होमिनेलाई सोध्नु प्रगतिशील शिक्षा आयोकि आएन ? बुर्जुवा शिक्षाको सटिर्फिकेट बोकेर देश छोडी मरुभूमिमा पस्नेहरुलाई सोध्नु उनीहरुको दिन आयो कि आएन ?

स्मरणहोस् ! हुनेखानेलाई नै गणतन्त्र फलिफाप भयो । बालुवाटार हडप्ने भूमाफियाहरुलाई गणत्रत आयो । ह्वाइड वडी खरिद गर्नेहरुलाई गणतन्त्र आयो । जग्गा ब्यापारीहरुलाई गणतन्त्र आयो ।

शहरका अग्ला महलमा बस्नेहरुलाई गणतन्त्र छायो । सुकुम्बासीहरु उस्तै बिचल्लीमा परे ।

गणतन्त्रका लागि हामी जनता राजनीतिको गुलामी बन्यौ । एकथरि मानिसहरु साम्यबादी लक्ष्य बोकेर प्रचण्डपथको बाटो लागेर २१ औं शताब्दीको जनवाद भने । आर्को थरि कम्युनिष्ट हुलहरु मदन भन्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादमा कुँदे । समाजबाद चाहाने केहि मानिसहरु बिपिले अघिसारेको प्रजातान्त्रिक समाजवादको पछि लागे ।

अन्य बिचार धाराहरु बोकेर थुप्रै कर्पोरेट जस्तै देखिने पार्टीहरुको बाटो समाएर दिशा बिहिन भएर हिडिरहेका छन् ।

तर अहं ! देशले अझै परिवर्तन पाएन ।

१२ बुंदे शान्ति सम्झौताको नाममा युद्दको ब्यबस्थापनको जालो फ्याकियो । तत्कालीन काङ्ग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको नेतृत्व सरकार गठन भयो । त्यसपछि चुनावको खुल्ला प्रतिस्पर्दामा भाग लिएको प्रचण्ड नेतृत्वको माओवादी पार्टी सबै भन्दा ठुलो पार्टीको रूपमा उदयमान भयो ।

प्रचण्ड प्रधानमन्त्री भए । देशले ठुलो अपेक्षा गरेको थियो । जुन बेलाको सरकार र र्यसको नेतृत्व प्रधानमन्त्री प्रचण्डले धेरै कामहरू गर्ने कोसिस पनि गरे । तर सरकार संचालनमा केहि अपरिपक्वता र धेरै सत्ता सन्चालकहरुकै असयोगमा सरकार लामो समय टिक्न सकेन ।

त्यसपछिको राजनीतिक खिचातानी देशका लागि दुर्भाग्यपुर्ण बन्यो ।

निकै लामो अस्थिरतामा धुमल्ली रहेको देशको राजनीतिले गतिदिन सकेन । नौ नौ महिनामा सरकार फेर्ने दुखद राजनीतिक संस्कारले ठाउँ पायो । पछिल्लो समय एमालेका अध्यक्ष केपी वली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको गठबन्धनमा जनताले दुई तिहाई बहुमतको जनमत प्राप्त गर्यो ।

हिजो अस्थिर सरकारको कारण देश अस्थिरमा फसेको भन्ने बुझाईलाई यो दुइतिहाई बहुमतको सरकारले चिर्छ भन्ने धेरैले आशा बोकेका थिए । तर बिडम्बना दुई दिहाइको सरकार आएपछि सबै भन्दा निराशा र त्रासदीको परिस्थिति नेपाली जनताले भोगिरहनु परेको छ ।

यसले रगत बगाएर ल्याएको गणतन्त्रको उपहास भैरहेको छ ।

आज राजतन्त्र मुर्दावाद्व भन्नेहरु । गणतन्त्र जिन्दवाद भन्नेहरु। राजतन्त्र विरुद्ध बन्दुक बोक्नेहरु, राजतन्त्र विरुद्ध लड्दा सहिद बन्नेहरु जेलनेल र घाइते सरिर बोकेर हिड्नेहरुलाई गणतन्त्रले उपेक्षा गरिरहेको छ ।

बिगतलाई एकपटक फर्केर हेरौ त ! कबिहरुले कविताबाट गणतन्त्र मागेका थिए । कलाकारले गीत संगीतबाट गणतन्त्र मागेका थिए। किसानले हलो कोदालो बोकेर मागे । मजदुरले औजार बोकेर मागे । पत्रकार, साहित्यकारहरुले कलम र माइक्रोफोन बोकेर मागे । विद्यार्थीले किताब र कपि बोकेर मागे । टेलिभिजन, रेडियो, पत्र पत्रीकामा गणतन्त्रको नारा घन्कियो ।

व्यवस्थाको नाम पनि परिवर्तन भयो । राजतन्त्रको ठाउँमा गणतन्त्र आयो । संघीयता सहितको तिन तहका सरकार आएका छन् । तर आम जनताको चाहाना अनुसार परिवर्तन भएनन् ।

सर्वहारा वर्ग अहिले पनि निर्जीव बस्तु जस्तै भएका छन् । कहिले राणाहरुको अधिन । कहिले राजाहरूको कठोरतामा । कहिले निरंकुश व्यवस्थाको प्रराधिन्ता। कहिले पुजीवादी उपनिवेशको थिचोमिचोमा ।अहिले जनप्रतिनिधिहरुको हैकममा उस्तै निरंकुशता भोगिरहेका छन् ।

युद्ध, आन्दोलनको उपलब्धि प्राप्त गणतन्त्र र सविधानले हामिलाई शाब्दिक रूपमा नागरिक भएको भान त बनायो । तर जनयुद्ध र जनआन्दोलनको म्यान्डेड अनुसारको सपना पुरा भएको छैन ।

(लेखक पुर्ब जनमुक्ति सेना हुन्)

२०७६ असार ८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको