सांसदको सयर, दूतावास हेर्ने बहानामा दलबलसहित विदेश जाँदै


असार ८, काठमाडौं । विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जाँदै छ। संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् । लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका चार मुलुकको भ्रमणमा जाने तयारीमा रहेको संसद् सचिवालयका एक अधिकारीले बताए। प्रधानमन्त्री केपी ओलीले सरकारमा आएलगत्तै अनावश्यक विदेश भ्रमण निरुत्साहित गर्ने बताएका थिए।

राजेन्द्रकुमार केसी नेतृत्वमा रहेको उपसमितिमा चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदी सदस्य छन्। उपसमिति सदस्यसँगै समिति सभापति भरतकुमार शाह पनि विदेश भ्रमणमा जाँदै छन् भने समिति सचिव डा. रोजनाथ पाण्डे पनि विदेश भ्रमणमा जानेको सूचीमा छन्। उनीहरूको यात्रा सहजीकरणका लागि परराष्ट्र मन्त्रालयका एक उपसचिव टोलीमा सहभागी हुँदैछन्। अर्थ मन्त्रालयबाट पनि एक सदस्य भ्रमण टोलीमा समावेश गर्नुपर्ने माग गरिएको छ।

टोलीले साउदी अरेबिया, बेलायत, जर्मनी र फ्रान्समा रहेका नेपाली दूतावासको अनुगमन गर्नेछ। असार ५ गते नै विदेश जाने बताइए पनि प्रक्रिया लम्बिँदा ढिलाइ भइरहेको उपसमिति सदस्य चन्दा चौधरीले बताइन्। उनले अन्नपूर्णसँग भनिन्, ‘हामी दूतावासहरुको अवस्था बुझ्न जाँदै छौं। प्रक्रिया चलिरहेको छ, त्यसले गर्दा केही ढिलाइ भएको छ।’

उपसमिति संयोजक केसीले पनि सांसदहरू विदेश जान लागेको पुष्टि गरे। ‘सबैको प्रक्रिया नमिल्दा ढिलाइ भएको हो,’ उनले भने, ‘चाँडै जाँदै छौं।’ समितिले सांसदको विदेश भ्रमणमा आवश्यक रकम विनियोजनका लागि अर्थ मन्त्रालयम्ँ पत्र पठाएको थियो। तर अर्थले मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र रकम निकासा गर्न सकिने बताएपछि प्रक्रिया लम्बिएको हो। भ्रमणबारे उपसमितिले आइतबार परराष्ट्रमन्त्रीसँग छलफल गर्दैछ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरूको टोली विदेश जान प्रक्रिया सुरु गरिएको पुष्टि गरे। उनले भने, ‘जाने तय भएको हो। तर, मन्त्रिपरिषद्ले अनुमति दिन ढिलाइ गरेकाले टुंगो लागिसकेको छैन।’ उनका अनुसार टोलीका केही सदस्यले परिवार र आफन्त पनि सँगै लैजानेछन्। प्रवक्ता पाण्डेले भने, ‘परिवार र आफन्त आफ्नै खर्चमा जानेछन्।’

संसदीय टोलीले साउदीमा दूतावासको कामकारबाही र आफ्नै दूतावास भवन बनाउने विषयमा छलफल गर्ने बताइएको छ। यसपछि युरोपमा बेलायतस्थित दूतावास भवनको अवस्था बुझ्नेछ। लन्डनस्थित नेपाली दूतावास भवन बिक्री गर्न भन्दै यसअघि पनि सांसदहरुले पटकपटक बेलायत भ्रमण गरिसकेका छन्। विज्ञ टोलीले उक्त भवन बिक्री गर्न यसअिघ नै सिफारिस गरिसकेको छ।

गत सातामात्र प्रधानमन्त्री केपी ओली नेतृत्व टोलीले पनि बेलायतको भ्रमण गरेको थियो। प्रधानमन्त्रीको भ्रमणका क्रममा दूतावासको भवनबारे सल्लाहकार समूहले चासो राखेको दूतावासका एक अधिकारीले जानकारी दिएका छन्।

जर्मनीको बोनमा रहेको दूतावास भवन नाजुक छ। तर बर्लिनमा दूतावास भाडामा बसेको छ। बोनमा रहेको भवन बिक्री गर्ने विषयमा टोलीले परामर्श गर्नेछ। त्यस्तै सांसद टोलीले पेरिसस्थित दूतावासको अनुगमन गर्नेछ। टोलीले अन्य मुलुकको पनि भ्रमण गर्ने कार्यसूची छ। तर त्यसलाई सार्वजनिक गरिएको छैन।

एक साताका लागि जाने भनिएको संसदीय टोलीले कोसँग कहाँ परामर्श गर्ने स्पष्ट छैन। ‘एक सातामा तीनतीन वटा मुलुकका दूतावासको निरीक्षण कसरी सम्भव हुन्छ ? कोसँग बुझ्नुहुन्छ उहाँहरूले ? ’ समितिकै एक सांसदले भने, ‘बजेट सिध्याउने र समितिका नाममा सांसदहरु विदेश घुम्ने बहाना मात्र हो।’

८ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको