यस्तो छ सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी


चैत ९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ४ मुक्त हलिया परिवारका घर निर्माणमा रोक लगाएको छ ।

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए ।

‘वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको छ,’ उनले भने ।

घर मर्मतका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको थियो । ‘निर्माण कार्य गरे घर नै भत्काइदिने भारतीय एसएसबीका जवानले धम्की दिने गरेको छ,’ खड्क सार्कीले भने, ‘पुरानो बस्दै आएको घर भत्काएर मर्मतका लागि पाएको रकम थपेर घर निर्माण थालेका थियौं, त्यो पनि बनाउन नपाइने भएपछि खुला आकाशमा परिवारसहित बस्नुपरेको छ ।’

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताए । उनले बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुंगो लगाइने बताए ।

यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रवार रोक्न लगाएको थियो । एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माण कार्य रोकिएको छ । २ देशका प्रशासन प्रमुखबीच चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ ।

नगरपालिकाले ब्रह्मदेव बजारदेखि ३ नम्बर सीमा स्तम्भसम्मको सडक कालोपत्रको काम शुरू गरेको हो । भीमदत्त नगरपालिकाले ठेक्का आह्वान गरी सडक निर्माण शुरू गरेको थियो । पिल्लर नम्बर ३ देखि ब्रह्मदेव बजारसम्म १ सय ३८ मिटर सडक कालोपत्रका लागि ठेक्का दिइएको थियो ।

यसअघि भारतले ब्रह्मदेव बजारसम्म सडक कालोपत्रका लागि रेखांकन गरेको थियो । भीमदत्त नगरपालिका र स्थानीय प्रशासनको दबाबपछि भारतीय पक्ष नेपाली भूमिमा सडक निर्माणबाट पछि हटेको थियो ।

टनकपुर बाँधदेखि ब्रह्मदेव बजारसम्म १ हजार ३ सय मिटर बाटो छ । त्यसमध्ये भारतीय पक्षले आफ्नो भूमिमा सडक निर्माण गरिसकेको छ ।

९ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको