(नेकपा) असन्तुष्ट समूहले भन्यो- ‘सरकारले आवश्यक कदम नचाल्दा बम विष्फोट भयो’


फागुन ११, काठमाडौं । नेकपा असन्तुष्ट समूहले ललितपुर नख्खुस्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा भएको बम विष्फोटको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

नागरिकको बाँच्न पाउने अधिकार हनन् भएको भन्दै यस्ता विध्वशंकारी गतिविधि रोक्न सम्बन्धित पक्षलाई असन्तुष्ट समूहले अपिल गरेको छ ।

असन्तुष्ट समुहका संयोजक युवराज सफलद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतले एनसेललाई सम्पूर्ण करको बक्यौता तिर्नु र तिराउनु भनि आदेश दिइसक्दा पनि वर्तमान सरकारले यसबारेमा आवश्यक कदम नचाल्दाको परिणाम यो बम विष्फोट प्रकरण भएको उल्लेख गरिएको छ ।

साथै नेपाल सरकारलाई तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम आजको मितिबाट १५ दिनभित्र चुक्ता गर्न एनसेल नेपाललाई असन्तुष्ट समूहले ध्यानाकर्षण गराएको छ ।

अन्यथा त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मा एनसेल नेपालले नै लिनुपर्ने विज्ञप्तिमा भनिएको छ । एनसेलबाट अर्बौँ रुपैयाँ चुनाव खर्च लिएर कर मिनाहा गरेको भनी सुन्नमा आएकोले भन्दै यस सम्बन्धि आवश्यक छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको माग गरेको छ ।

शुक्रबार साँझ अज्ञात समूहले उक्त एनसेल कार्यालमा गरेको बम विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको