जैश-ए-मोहम्मदको ‘हेडक्वाटर’ पाकिस्तान सरकारको कब्जामा


फागुन ११, काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तको सरकारले प्रतिबन्धित संगठन जैश-ए-मोहम्मदको मदरासालाई नियन्त्रणमा लिएको छ । बहावलपुरस्थित मदरेसातुल असाबर र जामा ए मस्जिद सुब्हानअल्लाहलाई सरकारले कब्जामा लिएको हो ।

पन्जाबको गृहमन्त्रालयका प्रवक्ताका अनुसार मदरसा नियन्त्रणमा लिएर त्यहाँ एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको छ । सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ ।

यसको जानकारी पाकिस्तान सरकारले ट्वीट गरेर पनि दिएको छ । पाकिस्तानका सूचना मन्त्री चौधरी फवाद हुसेनका अनुसार शनिबार पन्जाब सरकारले मिडियाकर्मीहरुलाई ति मदरसाको भ्रमण गराउने छ र त्यहाँबाट जैश-ए-मोहम्मदले कसरी काम गर्दथ्यो भन्ने जानकारी दिनेछ ।

पन्जाबको गृहमन्त्रालयका अनुसार यहाँ ७० शिक्षकहरुबाट ६०० विद्यार्थीहरुले पढ्दै आएका थिए । यी मदरसालाई भारतले जैश-ए-मोहम्मदको हेडक्वाटर भनेर प्रचार गर्दै आएको थियो ।

सूचनामन्त्री चौधरी फवाद हुसेनले भनेका छन् यो कारबाही नेशनल एक्शन प्लानअनुसार गरिएको हो, पुलवा आक्रमणको कारण मात्र होइन ।

भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा भएको आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए । यो आक्रमणको जिम्मा जैश-ए-मोहम्मदले लिएको थियो ।

बिहीबार प्रधानमन्त्री इमरान खान नेतृत्वमा भएको राष्ट्रिय सुरक्षा समितिको बैठकले मदरसामा कारबाहीको निर्णय गरेको थियो । सोही बैठकले हाफिज सइदको संगठन जमात-उद-दावा र फलाह-ए-इन्सानियत फाउन्डेसनलाई प्रतिबन्ध लगाउने निर्णय पनि गरेको थियो ।

प्रतिबन्धित संगठन जैश-ए-मोहम्मदका प्रमुख मौलान मसुद अजहर हुन् । उनी पाकिस्तानको पन्जाब प्रान्तस्थित बहावलपुरमा बस्ने गरेको बताइन्थ्यो । भारतले धेरैपटक मसुद अजहरलाई भारतको जिम्मा लगाउन पाकिस्तानलाई भन्दै आएको थियो । तर पाकिस्तानले भने उनीविरुद्ध प्रमाण नभएको बताउँदै आएको थियो ।

अक्टुबर २००१ मा भारतको संसद भवनमा भएको आक्रमण, २००२ मा अमेरिकी पत्रकार डेनियल पर्लको हत्या जस्ता घटनामा जैश-ए-मोहम्मदको हात रहेको बताइन्छ । संयुक्त राष्ट्रसंघले जैश-ए-मोहम्मदलाई आतंकवादी संगठनको सूचीमा राखेको छ ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको