भारतमा ५० प्रतिशत सम्पत्ति ९ जनाको कब्जामा, संसारका ३ अर्ब गरिब बराबर २६ धनाढ्य !


डाभाेस । सन् २०१८ मा भारतका करोडपतिहरुको सम्पत्तिमा हरेक दिन २२ सय करोड रुपैयाँको दरले बृद्धि भयो ।

अक्सफामको एक अध्ययनमा के देखाइएको छ भने २०१८ मा मात्रै एक प्रतिशत धनाढ्यहरुको सम्पत्तिमा ३९ प्रतिशतले बृद्धि भयो । यही देशका गरिब जनताको सम्पत्तिमा जम्मा ३ प्रतिशतले बृद्धि भएको छ ।

अध्ययनका अनुसार भारतका ९ अमिर (उच्च धनाढ्य)हरुको साथ पूरा देशको आधा सम्पत्ति छ । समाचार एजेन्सी पिटिआईका अनुसार स्वीट्जरल्याण्डको डाभोसमा आयोजित ५ दिने विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा अघि नै अक्सफामले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

रिपोर्ट अनुसार भारतमा १० प्रतिशत मानिससँग मात्रै देशको जम्मा ७७ दशमलब ४ प्रतिशत सम्पत्ति छ ।

जसमध्ये एक प्रतिशतको साथमा जम्मा ५१ दशमलब ५३ प्रतिशत सम्पत्ति देखिएको हो । जब कि, ६० प्रतिशत मानिसको साथ जम्मा ४ दशमलब ८ प्रतिशत सम्पत्ति छ ।
सन् २०१८ देखि २०२२ को बीच भारतमा प्रतिदिन ७० जना अमिर बढ्ने पनि रिपोर्टमा उल्लेख छ ।

साथै २०१८ मा भारतमा करिब १८ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुको संख्या बढेर १ सय १९ हुने छ । उनीहरुको साथमा २८ लाख करोडको सम्पत्ति हुने छ ।

करोडपतिको सम्पत्तिमा १२ प्रतिशतको बृद्धि

रिपोर्टका अनुसार विश्वस्तरबारे कुरा गरिरहँदा सन् २०१८ मा करोडपतिहरुको सम्पत्तिमा १२ प्रतिशतले बृद्धि देखिएको थियो । जब कि, अन्य गरिब मानिसको सम्पत्तिमा ११ प्रतिशतको गिरावट देखियो ।

रिपोर्टमा के पनि छ भने, संसारका करिब ३ अर्बभन्दा बढी गरिब मानिसको साथमा जति सम्पत्ति छ त्यति नै सम्पत्ति २६ जना धनाढ्यको साथमा छ । अमेजनका मालिक तथा संसारकै सर्वाधिक धनी जेफ बेजोसको कुल सम्पत्तिको जम्मा एक प्रतिशत रकम इथियोपियाको वर्षभरको स्वास्थ्य बजेट बराबर छ ।

अध्ययनले के पनि देखाएको छ भने भारतमा भने सबैभन्दा गरिब १० प्रतिशत अर्थात् करिब १३ करोड भन्दा बढी मानिस सन् २००४ देखि लगातार ऋणमा डुब्दैआएका छन् ।

धनी–गरिब दूरी कम गर्न आग्रह

अक्सफामले डाभोसमा राजनीतिक तथा आर्थिक विज्ञहरुसँग धनी र गरिबबीच बढ्दो आर्थिक दूरी कम गर्न पनि आग्रह गरेको छ । अक्सफामले आर्थिक तथा राजनीतिक क्षेत्रका विज्ञलाई यस क्षेत्रमा काम गर्न आग्रह गरेको हो ।

साथै यस्तो बढ्दो दूरीले विश्व आर्थ व्यवस्थामा गम्भीर असर पर्ने पनि अक्सफामको चेतावनी छ । अक्सफामका कार्यकारी निर्देशक विनी ब्यानिमाले भनेकी छन्, ‘नैतिक रुपमा यो व्यवस्था अति क्रुर छ । भारत, जहाँ गरिब मानिस दुई छाक खानको लागि संघर्ष गरिरहेका छन्, त्यहीँ अमिरहरुको सम्पत्ति लगातार बढ्दैगएको छ ।’

उनले थपेकी छन्, ‘यदि एक प्रतिशत अमिर र देशका अन्य गरिबको सम्पत्तिबीच यही किसिमको दूरी बढ्दै जान्छ भने यसले देशको सामाजिक र लोकतान्त्रिक व्यवस्था ध्वस्त हुने छ ।’

-एजेन्सी

९ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको