को हुन् अनशन बस्ने थापा ?


पोष्टपाटी जनकपुर/माघ ९ गते । संविधानसभाबाट संविधान निर्माण अनिश्चितसँगै बढेको राजनीतिक उथलपुथलले देशैभरि जातीय र आपराधिक समूह सलबलाए । ‘जनप्रतिनिधिको जनतासँग विश्वास गुमेको’ भन्दै ०६७ जेठ २३ गते जनकपुरमा नयाँ सशस्त्र समूहको गठन गरियो ।

मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिविधि मच्चाउने संगठनको महासचिव र प्रवक्ता बने, विजय थापा अर्थात् शिवा ।
ओखलढुंगाको सिसनरी ४ का थापा त्यही व्यक्ति हुन्, जसले चिकित्सा शिक्षामा सुधारको माग गर्दै १६औं अनशन थालेका डा. गोविन्द केसीको विरोधमा इलाममै पुगेर अनशन बसे ।

डा. केसीको विरोधमा अनशन बसेपछि एकाएक चर्चामा आएका थापाको आपराधिक पृष्ठिभूमि पनि उदांगिएको छ । तराई–मधेसमा सशस्त्र समूहको हिंसात्मक गतिविधि तीव्र बनेका बेला २०६७ जेठ २३ को राति जनकपुरमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामको अर्को सशस्त्र समूह थपियो । कमान्डर बलवीर सिंह, महासचिव थापा र सैन्यप्रमुख वीरेन्द्र सदा तोकिए । सशस्त्र समूह गठन गर्ने बैठकमै थापा रसदा हतियार बोकेरै आएका थिए । सिरहाको मिर्चैया फर्किन ढल्केबरकोपानीट्यांकीमा बस कुरिरहेका दुवैलाई प्रहरीलेनियन्त्रणमा लियो ।

थापामाथि तलासी गर्दा रिभलवर १ थान, गोली र सशस्त्र समूहको दस्तावेज फेला पर्‍यो । उनीसँगै रहेका सादाको साथबाट प्रहरीले ९ एमएमको थप गोली बरामद गर्‍यो । थापासँग भएको दस्तावेजमा मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिविधि गर्ने र त्यसको जिम्मेवारी पनि तोकिएको थियो । सिरहा, सप्तरी, धनुषा, महोत्तरी र पहाडको उदयपुर तथा सिन्धुलीमा हिंसात्मक गतिविधि चर्काउने योजना बुन्दै संगठनले थापालाई त्यसको नेतृत्व सम्हाल्न उदयपुर र सिन्धुलीको इन्चार्ज तोके । थापाले आफ्नो आधार इलाकाको सदरमुकाममा कम्तीमा ३ स्थानमा बम विस्फोट गरी युद्धको उद्घोष गर्ने रणनीति बनाए ।

थापासँगै बरामद भएका संगठनको दस्तावेजमा बम बिष्फोट सरकारी कार्यालयलक्षित हुने उल्लेख छ । राजनीति उथलपुथलको बेला ६ जिल्लामा तहसनहस पार्ने योजनासहित गठन भएको सशस्त्र समूहका २ ठूला नाइके थापा र सादालाई धनुषा प्रहरीले पक्राउ गरेपछि उनीहरूको हिंसा फैलाउने योजना तुहियो । ‘थापासँग बरामद भएको आधुनिक हतियार र दस्तावेजले उनीहरू ठूलै बितन्डा मच्चाउने मानसिकतामा रहेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर उमाशंकरसाहले कान्तिपुरसंग भने, ‘संगठन खोलेकै अर्को दिन पक्राउ परेकाले ठूलो घटना हुनबाट जोगियो ।’

अपराधिक साइनो
सानैदेखि आँटिलो र आपराधिक सोचका थापा जनयुद्धताका माओवादी हुँ भन्दै आतंक मच्चाउने र चन्दा संकलन तीव्र पारेपछि ओखलढुंगाको थातथलोबाट लखेटिए । उदयपुरको कटारीमा उनले ढाट राखेर चुंगीकर असुल्न थाले । चुंगीकर असुल्ने क्रममा झगडा हुँदा उनलाई प्रहरीले घुर्मीबाट पक्राउ गर्‍यो । केही दिनको हिरासतपछि उनी सिरहाको मिर्चैया झरे । त्यहाँ उनले स्थानीय केटाहरू प्रयोग गरी आपराधिक जालो फिँजाए ।

मिर्चैया बस्दा थापा हातहतियार र लागूऔषध कारोबारमा पनि संलग्न रहे । प्रहरीले उनलाई मिर्चैयाबाट पक्राउ गर्‍यो । सजाय काटिसकेपछि थापा मिर्चैयाबाट काठमाडौं पुगे । ‘ढल्केबरको बस बिसौनीमा थापासहित ३ जना बस कुरिरहेका थिए,’ इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालीन इन्स्पेक्टर श्याम केसीले भने, ‘उनीहरूको हर्कत र गतिविधिले हामीलाई शंकालु बनायो । नजिक पुग्दा १ जना भागे । थापा र सदालाई नियन्त्रणमा लियौं ।’

राजनीतिक सम्बन्ध
दोस्रो संविधानसभाबाट संविधान जारी आफ्ना माग उल्लेख नभएको भन्दै मधेसवादी दलले एमाले/कांग्रेसप्रति खुलेरै असन्तुष्टि पोखे । मधेस अशान्त र नाकामा भारतीय अवरोध थियो । तत्कालीन एमालेको चाहनामा २०७२ माघ १५ गते रैथाने एकता परिषद् भन्ने नयाँ संगठन मधेसमा सक्रिय भयो । त्यसको नेतृत्व धनुषा, ढल्केबरका सन्तोष बराइलीले सम्हाले ।

वर्षदिनपछि स्थापना दिवसमा मोटरसाइकल र्‍यालीपछि लहानमा आयोजित सभामा थापालाई परिषद्मा भित्र्याइयो । बराइलीका अनुसार जुझारू र आँटिलो केटा भएकाले थापालाई परिषद्मा आबद्ध गरिएको आजको कान्तिपुरमा छापिएको छ ।

२०७५ माघ ९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको