पाँच वर्षपछि निजगढ विमानस्थलबाट अमेरिका पुगिन्छ: पर्यटन मन्त्री भट्टराई


मंसिर ६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आगामी पाँच वर्षपछि निजगढ विमानस्थलबाट अमेरिका जान सकिने दाबी गरेका छन्।

रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उक्त विमानस्थल निर्माण सम्पन्न भएपछि वर्षमा २० लाख मात्रै नभई एक करोड पर्यटक भित्र्याउन सकिने उनको दावी छ।

‘द्रुत गतिमा काम हुन्छ। वर्षमा २० लाख मात्रै होइन, एक करोड पर्यटक आउने बनाउँछौं’ उनले भने, ‘नेपालमा ५० भन्दा बढी आन्तरिक विमानस्थलहरु हुनेछन्।’

निजगढ र गौतमबुद्ध विमानस्थल बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोड कम हुने उनले बताए। मन्त्री भट्टराईले निजगढ विमानस्थल बनाउनेबारे गलत प्रचार भएको गुनासो गरे। यसमा काटिने रुखको तथ्याङ्क यही महिनाभित्र सार्वजनिक गर्ने उनले बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने उनले बताए। ‘यो महिनाभित्र जग्गाको काम सम्पन्न गरिनेछ’, उनले भने, ‘विमानस्थल निर्माणको लागि ईपिपी मोडलमा जाने कुरा भएको छ, यसको लागि स्विट्जरल्याण्डको जुरिच एयरपोर्टको आशय छनौट भएको छ।’

यद्यपी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने निर्णय पनि जीवित रहेको उनले बताए ।

२०७६ मंसिर ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको