एनसेलको कर निर्धारण गर्दा सर्वोच्चमै विमति, न्यायाधीशले राखे फरक मत


मङ्सिर ६, काठमाडौँ । विगत ४ वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धारणको विषय टुंगिएको छ ।

सर्वाेच्च अदालतले गत भदौ ८ गतेको इजलासको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै लाभकर निर्धारण गरेपछि यो विषय टुंगिएको हो ।

पूर्णपाठमा एनसेलले अब लाभकरबापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने उल्लेख छ । यसबाहेक कानुनबमोजिमको ब्याजसमेत कम्पनीले बुझाउनुपर्ने पूर्णपाठमा समेटिएको छ ।

‘यसरी आयकर ऐनको दफा ११८ र ११९ बमोजिम शुल्क र ब्याजसमेतको रकम तिरी बुझाइसकेपछि पुँजीगत लाभकरको विवादको दायित्व पूरा एवं अन्त हुन जान्छ,’ पूर्णपाठमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यसअघि २०७२ चैत २९ गते स्विडेनको कम्पनी टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर तत्कालीन बजार मूल्यअनुसार १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँमा मलेसियन कम्पनी एजिएटालाई बिक्री गरेको थियो ।

उक्त कारोबारपश्चात् एनसेलको स्वामित्व बिक्रीमा पुँजीगत लाभकर राष्ट्रिय चर्चाको विषय बनेको थियो । संसद्अन्तर्गतका विभिन्न समितिमा पनि यो विषयमा दर्जनौं पटक छलफल भएको थियो ।

लामो समयदेखि टुंगिन नसकेको एनसेलको लाभकर विवादका विषयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्द मोहन भट्टराई र टंक मोक्तानको २०७५ चैत २७ गते बसेको पूर्ण इजलासले एनसेलको लगानीकर्ता एजियटाबाट ३ महिनामा लाभकर उठाउन ठूला करदाता कार्यालयलाई आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि कार्यालयले वैशाख ३ गते एनसेललाई ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कुल लाभकर निर्धारण गरी बाँकी रहेको ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपियाँ लाभकर भुक्तान गर्न सात दिनको समय दिएको थियो । कार्यालयको उक्त निर्देशनपछि १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै एनसेल सर्वाेच्च अदालत पुगेको थियो ।

एनसेलको निर्णयउपर वैशाख १२ गते बसेको सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेलबाट कर नउठाउन कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । वैशाख २४ गते सर्र्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोही अन्तरिमलाई निरन्तरता दिने फैसला गरेको थियो ।

पछिल्लोेपटक भदौ ८ गते सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भन्डारी, डम्बरबहादुर शाही, सुष्मलता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले ठूला करदाता कार्यालयको कर निर्धारण प्रक्रियामा प्रश्न गर्दै उक्त प्रक्रिया बदर गर्न आदेश दिएको थियो । उक्त आदेशको बिहीबार सार्वजनिक पूर्णपाठले नै एनसेलको लाभकर निर्धारण गरेको हो ।

न्यायाधीश माथेमाको फरक मत

लाभकर निर्धारणबारे सर्वोच्च अदालतको उक्त फैसलामा न्यायाधीश सुष्मलता माथेमाले कर निर्धारण प्रक्रियामा असहमति जनाएका छन् ।

एनसेलको कर शुल्क र ब्याज ठूला करदाता कार्यालयले कानुन अनुसार नै निर्धारण गरी असुलउपर गर्नसक्ने हुँदा एनसेलको माग बमोजिमको आदेश गर्नुपर्ने हो वा होइन भन्ने प्रश्नमा उनको फरक मत रहेको हो । ‘आदेशको पूर्णपाठ तयार पार्ने क्रममा खडा गरिएका निर्णय गर्नुपर्ने प्रश्नमध्ये पहिलो, दोस्रो र तेस्रो प्रश्नका सम्बन्धमा भएका व्याख्या र विवेचनासँग सहमत भए पनि अन्तिम प्रश्नको विवेचना गर्ने क्रममा भएको प्रस्तुतिमा सन्दर्भमा मात्र सहमत हुन नसकी यो छुट्टै राय प्रस्तुत गरेको छ,’ पूर्णपाठमा उनको फरक मतबारे उल्लेख छ ।

६ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको