‘विदेशबाट फर्किएका जिनाबाङ्गका युवाको गाउँबेसी बाख्रा पालन फर्म’


केबी गुरुङ/मङ्सिर ३, रोल्पा । सदाका लागि गाउँ छोडेर जानेहरु भेटिने ठाउँ छ ‘कोप्ची खोला’, अर्थात घाट, जसलाई मरोट घाट पनि भन्छन । गाउँका बुढापाकाहरु भन्ने गर्छन उमेर पुगेपछि हाम्रो भेट हुने थलो यहि हो । तर मरेपछि भेट हुन्छ कि हुँदैन, कसैलाई थाहा छैन । सायद मन बुझाउन लख काटेका होलान ।

अचेल त्यो कोप्ची खोला ‘गाउँबेसी’ भनेर चिनिन्छ । कारण विदेशबाट फर्किएका एक युवाले बाख्रा पालन गरेर बसेका छन् । उनको बाख्रा फर्मको नाम ‘गाउँ बेसी बाख्रा पालन फर्म’ रहेको छ । फर्मसंगै चिया नास्ता पसल पनि छ । उनको सानोतिनो खुद्रा पसल पनि छ ।

बिगतको डरलाग्दो कोप्ची खोला अचेल गाउँबेसीमा फेरिएको छ । एकताका दिउशै एकलै हिड्न डर लाग्ने अँध्यारो कोप्ची परेको खोलामा, अहिले गाउँलेहरु एक झल्को बेसी नझरे चित्त बुझ्दैन । अहिले त्यहाँ गाडी गुड्छ । मानिसहरुको बस्ति बन्दै छ । ब्यबसायिक चौतारी बन्दैछ ।

निस्सासिएको एक्लो चौपारी मुनि बाख्राको खोर बनाएर बस्ति बसालेका तिनै दुई दाजुभाइ थिए, खेम बहादुर बुढा र गणेश बुढा ।

रोल्पा जिनावाङ्गका युवा खेम बहादुर बुढा यतिबेला बाख्रा पालन फर्मको मालिक बनेका छन् । उनिसंग ७० भन्दा बढी बाख्राहरु छन् । उनले लोकल, बाबरी र बयर जातिका बाख्राहरु पाल्ने गरेका छन् ।

पन्द्रवर्ष पहिले बैदेशिक रोजगारको लागि कतार पुगेका खेम बुढाले आफुले कामगर्ने कम्पनिको नजिकै बाख्रा फर्म थियो । अरबी भाषामा बाख्रा पालन गर्ने खोरलाई ‘मजरा’ भन्दो रहेछ । आखिर कृषकको छोरा न परे, बाख्रापालन प्रति उनको चासो बढ्यो ।

उनले ड्युटी सकाएपछि फुर्सदको समय प्रायजसो मजरामा जान्थे र अरबिको बाख्रा पालन ब्यबसाय नजिकबाट नियाल्थे । यसरि मजरा भित्र पालिने भेडा, बाख्रा, कुखुरा पालनको तवर-तरिका बारे राम्रै अध्यन गरे ।

दैनिक ड्युटी जानु पर्ने, साहुको किचकिच सहनु पर्ने र थोरै तलवमा खुम्चिएर, आफ्नो परिवारसंग टाढा बस्दा उनि दिक्क भए । समय र श्रमलाई सदुपयोग गर्न सके आफ्नै जन्मभूमिमा परिवार संगै बसेर केहि गर्न सकिने उनको मनमा अठोट पलायो ।

बाउबाजेले घरमै गाई बाख्रा पालन गर्दै जिबिका चलाएको पेशाप्रति उनको मन फर्कियो । उनको एक दशक बैंस परदेशमै बित्यो । ८ वर्ष कतार र २ वर्ष मलेसिया । तर सोंचे जस्तोगरि फलेन परदेश ।

खाडी मुलुकको त्यो घामपानी दुख कष्टलाई पन्छाउने निधो गरे । सानै भएपनि बाख्रापालन ब्यबसाय गर्ने सोंच बनाएर पाँच वर्ष अघि घर फर्किए।

फर्ममा रमाई रहेका एकहुल बार्खाका पाठा संगै उभिएर उनले सुनाए, ‘अर्काको देशमा गुलामी गर्नु भन्दा आफ्नै ठाउँमा बाख्रा पालेर मालिक बन्ने रहर जाग्यो, अनि घर फर्किएर ३५ वटा लोकल बाख्राबाट सुरु गरें । अहिले झन्डै ५ बर्ष भयो । यो बिचमा थुप्रै बाख्रा उत्पादन गरे, अनि बेचे । अहिलेल ७० भन्दा धेरै बाख्रा छन्, यसैमा खुसि छु, परिवार संगै बस्न पाएको छु ।

अर्गानिक पालन

खेम बहादुरले रोल्पा जिनाबाङ्गको कोप्ची खोलामा रहेको जग्गा किनेर बाख्राको फर्म र आफु बस्ने घर बनाए । पानी प्रसस्त भएको तर बस्ति नभएको खोला किनारको जंगल (काल्नो)लाई पनि किने । उनले बाख्रालाई केवल खोरमा मात्रै सिमित गर्न चाहेनन् । सुरुमा स्थानीय उत्पादनबाट लोकल दाना बनाएर बाख्रालाई दिए । नजिकको आफ्नो (काल्नो) जंगलमा चरणका लागि दिनमा खुल्ला छोडी दिन्छन ।

खासमा उनको लक्ष्य अर्गानिक बाख्रा पालन गर्ने सोंच थियो । तर प्रयाप्त जंगल र घाँसको अभाब साथै लोकल दानाको प्रयाप्त ब्यबस्थापनमा देखिको समस्याकै कारण हाल दिनको एकपटक रेडिमेट दाना खुवाउने गरेका छन् । दिनमा ३/४ घण्टा जंगल चराउन लैजाने गरेका छन् ।

स्थानीय स्तरमा पालिएका अन्य फर्मको तुलनामा आफ्ना बाख्राहरु अर्गानिक भएको उनले दावी गरे । सुरुवाती चरणमा लोकल दानाहरु मात्रै दिनेगर्थे । अहिले रेडिमेट दाना दिनको एकपटक मात्रै दिने गरेका छन् । तर साँझ र बिहान यहीको लोकल दाना दिने गरेको उनले बताए । बाख्राहरुलाई खोरमा मात्रै सिमित नगरी जंगल चराउन लैजाने हुँदा आफ्ना बाख्राहरु अर्गानिक भएको पनि बताए ।

उनको फर्मबाट बाख्रा पालनका लागि पाठाहरु, बोकाहरू र खसी समेत बिक्रि हुनेगरेका छन् । विदेश बस्दाको भन्दा राम्रो आम्दानी आर्जन गरेको सुनाए । बाख्रा उत्पादन गर्न सके बजार ब्यबस्थापनमा समस्या नहुने उनि बताउछन । भन्छन, ‘बाख्रा लिन यहि फर्ममै आउछन् ।’

पशुसेवा कार्यलय रोल्पाले खोर सुधार भनेर १ लाख अनुदान दिएको छ । गाउँपालिकाले उन्नत जातको बाख्रा वितरण स्वरुप ५० हजार बराबरको बयर जातिको एउटा सानो पाठा दिएको सुनाए । त्यस बाहेक अन्य कुनै अनुदान नपाएको बताए ।

बाख्रा मरे तर बिमा पाएनन

‘यसअघि ३ पटकमा ३ वटा बाख्रा मरे, तर उनले बिमा कम्पनीबाट क्षेतिपूर्ति पाएनन । बिमा रकम नपाउनुको कारण खेम बुढाले यसरि सुनाए ।

फर्मका प्रति बाख्रा १० हजारको दरले बिमा गरिएको छ । बाख्रा मरेबाफत एउटा बाख्रा करिब ८ हजार पाउने भन्ने छ । तर त्यो रकम ल्याउन ४/५ दिनको यात्रा गरेर प्रदेशको अस्थायी राजधानी बुटवल जानु पर्ने हुन्छ । हाम्रो प्रदेश राजधानी पनि सेन्टरमा नभएर अपाई पर्ने कुनामा पर्छ ।

मेरो कहानी सुन्नुस । यस अघि ३ वटा बाख्रा मरे ! तिन वटा बाख्रा अघि पछि गरेर मरे । एउटा बाख्राको बिमा गरेबाफत ८ हजार आउछ । त्यो रकम ल्याउन घरबाट एक दिनमा दाङ्ग पुगिन्छ, आर्को दिन बुटवल पुगिन्छ । ताखेता गरे बिमा कम्पनिमा पुगेर पनि दाङ्ग सम्म फर्किन सकिन्छ, त्यो पनि कागजपत्रको झमेला नभए । नत्र अर्को दिन फर्न्किनु पर्छ । दाङ्गबाट आर्को दिन घर आइपुगिन्छ । यसरि हेर्दा ४/५ दिन लाग्छ । बस्नन, खान, गाडी भाडाको खर्च र कम्तिमा पनि ४ दिनको ढ्यारी जोड्दा ८ हजारले पनि पुग्दैन ।

अब तपाइँ आफै भन्नुस, त्यो ८ हजार लिन जाउ कि नजाउ ? बिमा गराउने एजेन्टहरुले बिमा रकम ल्याउन बुटल नै पुग्नु पर्छ भन्छन । गाउपालिका संग यो समस्या राख्दा अब केहि दिनमा यतै उपलब्ध गराउने गरि पहल गर्छु भन्नछन । कहिले गराउछन थाहा छैन । त्यसैले बाख्राको बार्षिक बिमा पनि नबिकरण नगर्ने कि भन्ने सोचेको छु, हेरौ के हुन्छ ।

२०७६ मंसिर ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको