जापानमा नेपाल र भारतका राष्ट्रपतिबीच पहिलो पटक भेटघाट


कात्तिक ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ।

जापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा भाग लिन जापान गएकी राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबीच मंगलबार बिहान उनीहरु बसेकै होटलमा भेट भएको हो। कोविन्द राष्ट्रपति भएपछि नेपाल र भारतीय राष्ट्रपतिबीच भएको यो पहिलो भेटघाट हो।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको र त्यसलाई भारतीय राष्ट्रपतिले स्वीकार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भारतीय राष्ट्रपति कोवन्दले कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिएका थिए। सांसद हुँदा भने कोविन्दले सन् २००६ मा नेपाल भ्रमण गरेका थिए।

आयोजनाहरु छिट्टै बन्ने

दुवै राष्ट्रपतिले भेटका अवसरमा नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक र बहुआयामिक बनाइने दृढता व्यक्त गरेका थिए।

परराष्ट्र सचिव शङ्करदास बैरागीका अनुसार दुवै देशका राष्ट्रपतिले भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल गरेका थिए।

पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भन्दै उनीहरुले सन्तोष व्यक्त गरेका थिए।

उनीहरुले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरेका थिए। (तस्बिर : श्याम रिमाल/रासस)

५ कार्तिक २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको