साउन ६, जुम्ला । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान प्रहरीले जिल्ला सचिव हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी बिर्खबहादुर शाहीसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने अर्का कार्यकर्तामा नरहरिनाथ गाउँपालिका–२ कालीकोट घर भएका युवा संगठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्ट रहेका छन्।
दुई जनालाई जिल्ला सेक्रेटरी शाहीको घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन वलीले बताए । सेक्रेटरी शाही र विष्ट धाँचुगाउँमा आएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उता, सेक्रेटरी शाहीको परिवारको भने राति घरको ढोका फुटाएर उहाँलाई प्रहरीले अपहरण शैलिमा जवरजस्ती गिरफतार गरेको बताएको छ । फोक्सोको बिरामी शाहीलाई घरबाटै अपराधि शैलीमा जबरजस्ती धरपकड गरेको भन्दै परिवारले दुख व्यक्त गरेको छ । प्रहरीले भने बाहिर ताल्चा लगाएको र खोल्न नमानेपछि फुटालिएको बताएको छ ।
उनीहरुको साथबाट चन्दा रसिद ३०, युवा सङ्गठन नेपालको लेटरप्याड चार, पर्चा पम्प्लेट १०३, सिमकार्ड एक, मोबाइल दुई र पुस्तक आठ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस