स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर र गृह मन्त्रालय अगाडि


साउन ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।
पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको घटनाको छ ।

इन्जिनियर हरिप्रसाद चौधरी, कमल सिटौला, विश्वेश्वरप्रसाद साहलाई नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले १५ लाख रुपियाँ घूससहित शनिबार मात्र पक्राउ गरेको हो ।

तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपियाँ घूस मागेका थिए । घूस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकेदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरूलाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो ।

उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । यस्तै गत शुक्रबार आयोगले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इञ्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई पक्राउ गरी कारवाहीको पक्रिया अगाडि बढाएको छ ।

आयोगले इन्जिनियर प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार ५ सय रुपियाँ नगद तथा इन्जिनियर भोगेन्द्र साहको साथबाट एक लाख २९ हजार एक सय पाँच रुपियाँ फेला पारेको थियो । सोही दिन सिरहाको गोलबजार नगरपालिकाकी सब इन्जिनियर उमा श्रेष्ठलाई आयोगले घूससहित पक्राउ गरेको छ ।

असारयता मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न स्थानीय तहमा कार्यरत २० इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । गत असार ६ मा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सबइन्जिनियर बद्री भण्डारी २५ हजार घूससहित पक्राउ परेका थिए ।

यस्तै असार १७ मा शिक्षा समन्वय एकाइ काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा समन्वय एकाइ भोजपुरका सबइन्जिनियर नीरजकुमार चौधरीलाई १ लाख ५० हजार सहित रंगेहात पक्राउ गरियो । सोही दिन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर वासी अख्तर मोहम्मदलाई चार लाख रुपियाँ घूससहित पक्राउ गरेको थियो ।

त्यसैगरी १९ असारमा १ लाख घूस लिएको आरोपमा आयोगले सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकासकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । साथै २४ असारमा माडी–लुंगी करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सबइन्जिनियर तारा श्रेष्ठ र डिई उग्रनाघ झाविरुद्ध मुद्दा दायर गरिएको छ । २४ असारमै आयोगले हतुवागढी गाउँपालिका भोजपुरमा कार्यरत असिस्टेन्ट सबइन्जिनियर नइन्द्र पारुहाङ राईलाई २० हजार घूस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

यस्तै सोही दिन बाराको पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतार १५ हजार घूससहित पक्राउ परेका छन् । यस्तै असार ३० मा जलस्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई मोहनबाबु यादव १ लाख ८० हजार घूससहित पक्राउ परेका छन् भने सोही दिन जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय कञ्चनपुरमा कार्यालय प्रमुख अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दुई सय कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा दुई जना विशिष्ट श्रेणीका कर्मचारी पनि छन् । यस्तै दुई जना सहसचिव, १० जना उपसचिव, ३२ जना शाखा अधिकृत, ४७ जना नायब सुब्बा, २९ जना खरिदार, १५ जना जुनियर कर्मचारी र २४ जना कार्यालय सहयोगीलाई पनि अख्तियारले पक्राउ गरेको छ ।

अख्तियारले सात जना निर्वाचित तथा मनोनित पदाधिकारी पनि घूससहित पक्राउ गरेको छ । घूससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी रहेका छन् ।

६ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको