बैशाख ९, नेपालगञ्ज । प्रहरीले नेपालगञ्जस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय घेराउ गरेको भन्दै आयोगले आपत्ति जनाएको छ ।
विप्लव नेकपाका एक ब्यक्तिलाई आयोगले संरक्षण दिएको भन्दै प्रहरीले आयोग नै घेराउ गरी उनलाई पक्राउ गर्ने प्रयास गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका-११ का दानबहादुर फडेरालाई जिल्ला अदालतले साधारण तारेखमा छोडेको थियो। तर प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गर्ने प्रयास गरेपछि फडेराले आयोग गुहारेका थिए।
राति आयोगमै बसेर आफ्ना कुरा राखेका फडेरालाई समाउन डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले आयोगको कार्यालय घेराउ गर्नुका साथै कार्यालय प्रमुखमाथि ढाेका खाेल्न दबाब दिएको थियाे।
प्रहरीले आयोग कार्यालय घेराउ गरेकोमा राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएकाे छ। आयाेगले डीएसपी सिंहको कामकारबाही र व्यवहारबारे छानविन गरी विभागीय कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन प्रहरी महानिरीक्षकलाई निर्देशन पनि दिएको छ।
आयोगले फडेरा र उनको परिवारका सदस्यलाई मानसिक वा अन्य यातना नदिन समेत प्रहरीलाई सचेत गराएको छ।
पूर्व लडाकू फडेराले आफू विप्लव समूहप्रति आस्था राख्ने भएपनि सक्रिय नभएको आयोगलाई बताएका छन्।
प्रतिक्रिया दिनुहोस