एसईई दिँदै गरेकी सांसद चौधरीलाई छोरीले कसको नम्बर धेरै आउँदोरहेछ भनेपछि…


चैत ८, दाङ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिँदै हुनुहुन्छ ।

फाइल तस्बिर 

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नुभएन । अनि खुला विद्यालयमा भर्ना हुनुभयो ।

उहाँ यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसईईको परीक्षा दिँदै हुनुहुन्छ । ‘यसपालि त म छोरीसँग परीक्षा दिँदैछु’, उहाँले हाँस्दै भन्नुभयो, ‘ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।’ उहाँले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाउनुभयो ।

नियमिततर्फ महेन्द्र आधारभूत विद्यालय, तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी(सिम्बोल नम्बर ०५८८४५३ भी) तुलसीपुरबाटै परीक्षा दिँदै हुनुहुन्छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाण्डौबाट परीक्षा दिँदै हुनुहुन्छ । नेकपा संसदीय दलका सचेतक चौधरीले भन्नुभयो, ‘व्यस्तताको कारण नियमित कक्षा जान पाइनँ, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।’
बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उहाँको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुग्नुभएका नेतृ चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उहाँलाई पटक-पटक घोच्यो र विद्यालयमा भर्ना हुनुभयो ।

२०६४ सालमा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझ्नुभयो र पढ्नतिर लाग्नुभयो । केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उहाँ बताउनुहुन्छ ।

सुरुसुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि जानुभयो । डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उहाँलाई अचम्म लाग्छ । ‘उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है’ भन्दै हाँस्छन् । उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दो रहेछ भन्ने सांसद चौधरीलाई लाग्छ ।

सुरुमा स्कुल जाँदा उहाँलाई आफ्नै बुबाआमाले समेत विश्वास गर्नुभएन । असी वर्ष कटिसक्नुभएका बुवा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले सुरुमा त ‘विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने ?’ भन्नुहुन्थ्यो रे । पछि नियमित विद्यालय जाने पढ्ने गरेको देखेपछि विश्वास गरेको उहाँ सुनाउनुहुन्छ । ‘सुरुमा विद्यालय जाँदा, तँलाई साना केटाकेटीले जिस्काउँदैनन भनेर बुवाआमाले सोध्नुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अब त मेरा भाइका साना छोराछोरीलाई शान्ता फुपूले जस्तै पढ्नुपर्छ भनेर सिकाउनुहुन्छ ।’ नेतृ चौधरीले पढाइप्रति मोह देखाउन थालेपछि उहाँका बुबाआमा आफूहरुले छोरीलाई पढाउन नसकेकामा पछुतो मान्नुहुन्छ ।

सांसद चौधरी घरमा आनन्दले पढ्न पाउनृुहुन्न । ‘माननीय भन्छन्, जिल्लामा हुने हरेक सानाठूला औपचारिक कार्यक्रममा सबैले सम्झिन्छन्’, उहाँले भन्नुभयो, ‘गएन भने पनि जनताले बोलाएको ठाउँमा आउँदिन भन्छन्, त्यसैले म नकार्न सक्दिनँ । गयो भने पढ्ने समय पाइँदैन ।’ उहाँले पछिल्लो एक हप्तायता औपचारिक कार्यक्रममा जान छाड्नुभएको छ ।

अब परीक्षालाई ध्यानमा राखेर भाषण गर्ने कार्यक्रममा जान छाडेको उहाँले बताउनुभयो । उहाँ राति पढ्न गाह्रो भएपछि प्रायः बिहान र दिउँसो पढ्नुहुन्छ । ‘रातिसम्म धेरै बस्न सक्दिन । पूरा समय सुत्नुपर्छ भन्ने लाग्छ, त्यसैले छिट्टै सुत्छु । बिहान छिटो उठेर पढाइ थाल्छु ।’ उहाँलाई जति सक्यो धेरै ग्रेड ल्याउने ध्याउन्न छ । उहाँलाई अरु सबै कामभन्दा पढ्ने काम सबैभन्दा गाह्रोजस्तो लाग्छ तर पनि यही गाह्रो काम गर्न उहाँ कस्सिनुभएको छ ।

उहाँलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ । अङ्ग्रेजीमा त उहाँ बोल्न सक्नुहुन्छ तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ ।एसईईपछि माथिल्लो कक्षामा ग्रेडअनुसारको विषय छान्ने उहाँको धोको छ । जसरी भए पनि पढाइ भने नछाड्ने उहाँ बताउनुहुन्छ । अठ्तीस वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ । -रीता लामा/रासस

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको