ढुक्क हुनुहोस्, ३ बर्षभित्र सल्यान र रोल्पाका सबै वडामा विद्युत पुग्छ: उर्जामन्त्री पुन


खकेन्द्र केसी/फागुन १०, सल्यान । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सल्यान र रोल्पाका सबै वडाहरुमा छिटै विद्युत लाइन विस्तार गरिने बताएका छन् ।

शुक्रबार सल्यानको शितलपाटीमा ३३ केवी विद्युत सवस्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले आफु यही क्षेत्रको मन्त्री भएकाले सल्यान र रोल्पालाई प्राथामिकतामा राखेको बताए । उनले सल्यान र रोल्पाका सबै वडाहरुमा अबको ३ बर्षभित्र विद्युत लाईन पुर्याइने भएकाले ढुक्क हुन आग्रह गरेका छन् ।

आगामी ५ बर्षभित्र देशलाई उज्यालोमा राख्नेगरी काम थालनी भएको भन्दै मन्त्री पुनले सबै नेपालीको घरमा बिजुली पुग्ने बताए । उनले लाइन तान्न सकिने ठाउँमा लाइन र नसकिने ठाउँमा सौर्य उर्जा मार्फत विद्युत पुर्याउने बताए ।

सल्यानको ३३ केवी विद्युत सवस्टेशन आफु मन्त्री भएपछि मात्रै काम पुरा भएको उनले बताए । १२ बर्षसम्म १४ वटा मन्त्री फेरीदा पनि काम नभएको भन्दै मन्त्री पुनले आफुले मेहनत गर्दा काम पुरा भएको दाबी गरे ।

उनले भने– “१२ बर्षसम्म १४ जना मन्त्री फेरिनुभयो, तर काम केहि भएन । ठेकेदारले मन्त्रीहरुलाई चलायो, अनि मन्त्रीले शासन गरिरहे ।” आफुले ठेकेदारलाई काम तगारुकताका साथ गर्न लगाएपछि काम पुरा भएको उनले बताए ।

लोकतान्त्रिक पद्धतिमा जनताले देशमा शासन गर्नु पर्ने भए पनि नेपालमा निर्माण व्यवसायीहरूले शासन गरिरहेको उनले बताएका हुन् । उनले भने– “सरकारले कार्यक्रम बनाउँछ, जनप्रतिनिधिले योजना बनाउँछन् जब टेन्डर तथा ठेक्का प्रणालीमा पुग्छ त्यसपछि योजना लम्बिन्छ र विकासको गति रोकिन्छ। जसको अपजस प्रधानमन्त्री, जनप्रतिनिधिहरूले भोग्नु परिरहेको छ ।”

अर्को एक प्रशंगमा मन्त्री पुनले सरकार संघीयता कार्यान्वयनमा गम्भीर भएर लागि परेका बताए । सामाजिक न्यायसहितको समृद्धिलाई आत्मसाथ गर्न संघ, प्रदेशले कानुन निमार्ण गरेर संघीयतालाई बलियो बनाउन लागि परेको बताए ।

उनले नेपालको समृद्धिको आधार भनेको जलस्रोत र पर्यटन भएकाले अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी ५ हजार मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य लिएको योजना सुनाए । नेपाल सरकार र जनताकै लगानीमा जलविद्युत उत्पादन सम्भव भएको बताउँदै उनले नेपालीको आयआर्जनमा वृद्धि गर्न जलविद्युतमा खुल्ला शेयर आह्वान गर्न थालिएको जिकिर गरे ।

मन्त्री पुनलाई कपुरकोट र छत्रेश्वरी गाउँपालिकाले स्वागत पनि गरेका थिए । श्रीनगरमा नेपाल पत्रकार महासंघ सल्यान र सल्यान उद्योग वाणिज्य संघले पनि स्वागत कार्यक्रम गरेका थिए ।

कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघ र खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले ज्ञापन पत्र बुझाएका छन् ।

१० फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको