एनसेल मुख्यालयमा शक्तिशाली बम बिस्फोट, २ जना घाइते


फागुन १०, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ ।

बम बिस्फोटमा परी २ जना घाइते भएका छन् । घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ। बम बिस्फोटबाट गेटमा क्षति पुगेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यसअघि बिहिवार बागलुङमा पनि एनसेलको टावरमा आगजनी भएको थियो । बागलुङका विभिन्न ठाउँमा रहेका निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेएलका टावरहरूमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको हो ।

एनसेलको मात्रै ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बक्यौता रहेको छ । संसद्काे अर्थ समितिको माघ २७ गते बसेको बैठकमा तथ्यांक प्रस्तुत गर्दै राजस्व सचिव लालशंकर घिमिरेले यस्तो जानकारी दिएका हुन्। समितिमा बोल्दै उनले मूल्य अभिवृद्धि कर, आयकर र गैरकर गरी ७२ अर्ब ६२ बक्यौता असुल्न बाँकी रहेको बताएका थिए ।

कुल बक्यौतामध्ये एनसेलसम्बन्धी बक्यौता (टेलिया र निरज गोबिन्दको) मात्रै ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ छ । केहिदिन अघि मात्रै सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको थियो ।

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।

२०७५ फाल्गुन १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको