नेकपा सचिवालयद्वारा कार्यदल भंग


फागुन १०, काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ ।

अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।

बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए ।

तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए । शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ ।

सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयले नै गृहकार्य गरेर प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘एकीकरणका जति पनि काम वाँकी छन्, ती सबैमा सचिवालयले गृहकार्य गरेर प्रस्ताव तयार गर्छ । त्यो प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भयो ।’

पौष १३ बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट थियो ।

२०७५ फाल्गुन १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको