असोज ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम कास्कीमा हुन लागेको उपचुनावमा नउठ्ने भएका छन्।
कास्की क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
गौतमले कास्की २ बाट उपनिर्वाचनमा नउठ्ने जानकारी शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकलाई गराएको उनका सहयोगी विश्वमणि सुवेदीले बताएका छन् ।
आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु, गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु।
यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट वामदेव उम्मेदवार भएका थिए । जहाँ उनी कांग्रेसका सञ्जय गौतमसँग ७०० मतले पराजित भएका थिए । उनले बर्दियामा कांग्रेसको भन्दा वाम गठबन्धनको ३२ हजार धेरै मत हुँदा पनि हार भोग्नुपरेको विगत सुनाउँदै कास्कीमा पनि त्यही जोखिम रहेको उल्लेख गरेका छन्।
२०७४को निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो, उनले भनेका छन्, त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।
गौतमले कास्की २ मा स्थानीय नेतालाई नै पार्टीले टिकट दिनुपर्ने अडान राखेका छन्। मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ, उनले भनेका छन्, कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ।
उनले पार्टीको जितका लागि कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहेकामध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो अडान अघि सारेका छन्।
प्रतिक्रिया दिनुहोस