जेठ ७, एजेन्सी । सन् २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवर्ड बालोन डि‘ओर कसले जित्ला भन्नेमा विभिन्न अड्कलबाजी सुरु भइसकेको छ । हालसम्मको अवस्थामा स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।
तर, फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले भने यसपटक बालोन डि‘ओर मेस्सीले नै जित्ने दाबी गरेका छन् । अघिल्लो दिन लिग वानमा प्लेयर अफ् द सिजन र योङ प्लेयर अफ् द सिजनको अवार्ड थापेपछि एमबाप्पेले यसबारे बोलेका हुन् ।
उनलाई ‘२०१९ को बालोन डि‘ओर कसले जित्छ’ भने सोधिएको थिए । जसमा उनले यसपटक मेस्सीजत्तिको उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडी नरहेको बताए । ‘मेस्सी,’ एमबाप्पेले ढुक्कसाथ जवाफ दिए, ‘किनभने, यसपटक उनीजत्तिको प्रदर्शन गर्ने कोही छैन ।’
एमबाप्पेले यो बताएका छन् कि, युरोपियन च्याम्पिन्स लिगमा बार्सिलोनाले लिभरपुलसँग लज्जास्पद हार व्यहोरे पनि त्यसले मेस्सीलाई बालोन डि‘ओर जित्नबाट रोक्दैन ।
‘यो सिजन उनी उत्कृष्ट थिए भनेर उसले साबित गरिसकेका छन् । तर, यो वर्षको डिसेम्बरसम्मको प्रदर्शन पर्खिनुपर्ने हुन्छ,’ एमबाप्पेले भने, ‘यहाँसम्मको अवस्थामा उनी १ नम्बर दाबेदार हुन् ।’
यो सिजन एमबाप्पेले मेस्सीलाई पछि पारेर युरोपियन गोल्डेन बुट जित्ने दौडमा छन् । हाल मेस्सी ला लिगामा ३६ गोलसहित शीर्ष स्थानमा छ भने दोस्रो नम्बरमा रहेका एमबाप्पेको ३२ गोल छ । ला लिगा सकिइसकेको छ तर लिग वानमा अझै पिएसजीले एक खेल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस