वैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले श्रीलंकामा बम बिस्फोटनमा कैयौं निर्दोषहरुको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।
आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै ओलीले समकक्षी र श्रीलंकाली जनताप्रति समवेदना प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।
ओलीले बिस्फोटमा जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओली र समकक्षी विक्रमासिंघेसँगको सम्वाद उद्धृत गर्दै उनको सचिवालयले भन्यो, “श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलाआद्ध आम आक्रमणमा कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।”
प्रधानमन्त्री ओलीले नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवाद विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवताविरोधी घटनाको भर्त्सना गरेको बताएका छन् । दुःखद घडीमा श्रीलंकाका जनताको साथमा नेपाली जनता भएको बताएका उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस