विप्लव नेकपासँग वार्ता गर्न सरकारले राख्यो यस्तो सर्त


चैत ७, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बिसाएर वार्तामा आउन आव्हान गरेको छ ।

मन्त्रिपरिषदले गरेका निर्णय सुनाउन बिहीबार आयोजना गरिने नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गोलाबारुद बिसाएर वार्तामा आउन विप्लव नेतृत्वको समूहलाई आग्रह गरेका हुन्।

‘विप्लव समूह भनेर चिनिने समूहलाई हामीले सिध्याउने कुरा कहिल्यै गर्‍यौं? हामीले त उहाँहरुलाई बमबारुद नबोक्नुहोस्, शान्तिपूर्ण तवरले समस्याका समाधान खोज्न सकिन्छ। संविधान भित्रबाटै खोज्न सकिन्छ भनेका हौं,’ बास्कोटाले भने, ‘संवादका लागि सरकार सधैं खुला छ, तर वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ।’

हतियार उठाएर पुन: द्वन्द्व निम्त्याउने काम सरकारले हुन नदिने उनले बताए। ‘द्वन्द्वमा पर्नेलाई थाहा हुन्छ द्वन्द्व कति पीडादायक हुन्छ भनेर,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘सामाजिक समस्या हल गर्न चेतनाको स्तर उकास्नुपर्छ। हतियार उठाएर हुँदैन। शान्तिपूर्ण ढंगबाट संविधान मानेरै जताबाट गिर खेले पनि हुन्छ।’

समाजले स्वीकार गर्न नसक्ने हत्या, हिंसा, चन्दा आतंकजस्ता विषयलाई छाडेर शान्तिपूर्ण वार्तामा आउँदा कोही पनि सानो नहुने बास्कोटाको भनाइ छ। ‘भीरबाट लड्नेलाई रामराम भन्ने हो काँध थाप्न को जान्छ?,’ बाँस्कोटाले पत्रकारहरुलाई प्रश्न गरे, ‘तपाइँहरु जानुहुन्छ?’ विप्लवका गतिविधिमाथ प्रतिबन्ध लगाए पनि सरकारले उक्त समूहलाई सिध्याउन नखोजेको पनि उनले बताए।

हिंसा छाड्न पनि प्रवक्ता बास्कोटाले विप्लव समूहलाई आग्रह गरेका छन्। ‘हतियार छाडेर, हिंसा छाडेर, चन्दा असुली र निर्दोष मान्छे मार्न छाडेर वार्तामा आउनुहोस्,’ उनले भने, ‘मान्छे मार्ने भन्ने कुरा हामी शब्दकोषबाट नै हटाउन चाहन्छौं। तपाइँहरुलाई पनि थाहा छ यो बुद्ध जन्मेको देश हो।’

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको