विप्लवविरुद्ध परिचालनबारे नेपाली सेनाले निकाल्यो यस्तो विज्ञप्ति


चैत ७, काठमाडौं । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु कतिपय मिडियामा आउन थालेपछि नेपाली सेनाले मुख खोलेको छ ।

नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीका टिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

नेपाली सेनाले अगाडि भनेको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’

विगत केही दिनदेखि आधिकारिक श्रोतले दिएको औपचारिक सूचनाबाहेक पनि विभिन्न सैनिक स्रोतको हवाला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिका टिप्पणीहरु गरेको भन्दै विज्ञप्तिमा गुनासो गरिएको छ ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको