को अंगुलीमाल, को दक्षप्रजापति ?


पुरुषोत्तम न्यौपाने । राष्ट्रवादको ईजार कहाँ कुन रुपमा फुस्कन्छ र नेताको राजखानी देखिन्छ थाहा हुन्न । सुगौली सन्धी अघि र पछिको विषय ‘मिडिया स्टन्ट मात्र भएको’ बताएर प्रचण्डले दक्षीणको दोषबाट मुक्ति पाइने जुक्ति निकालेको दृष्यलाई टाइम्स अफ इण्डियाले स्वादले लेखेको थियो त्यो बेला । लेखमा चाँहि चीन र पाकिस्तानपछि नेपालसँग भारतको सीमा समस्याबारे चर्चा गर्दै माओवादीहरुले आफ्नो शिविरमा समेत ग्रेटर नेपालको नक्सा पढाइरहेको हौवा पिटाइएको थियो ।


****

संयोगमा सम्बन्ध खोजिन्न । खोज्न पनि हुँदैन । तर इतिहासले कहिलेकाँहि अपूर्व संयोग जुराउँछ जसलाई अन्तरसम्बन्धित गरेर हेर्दा रोमाञ्चकता पैदा हुन्छ । रोमाञ्चकता आफैंमा यथार्थबाट पर हुनसक्छ । रोमाञ्चकता र विष्मय फरक कुरा हुन् । तर केही सन्दर्भ रोमाञ्चक भएरै विष्मयी हुन्छन्, विष्मयी भएरै रोमाञ्चक हुन्छन् ।

कथा यसरी शुरु गरौं ।

एउटा अभियुक्त छ । ऊ संगीन आरोपले जेलिएको छ । अपराधी करार गरिएको छ । ऊ राज्यद्रोहको आरोपमा थुनामा छ । देश विखण्डनको गम्भीर आरोपमा उसले पटकपटक हिरासत चाहारेको छ । हिजो देशको झण्डा जलायो । देशलाई अमाचकारी गाली गर्यो । देशभित्र देश खोज्न हतियारधारी समूह बनायो, समूह चलायो । उसलाई जात, धर्म, गोत्र, परम्परा, संस्कृति चाहिएन, फगत देश चाहियो । अपराधको भाषामै ऊसले सकेको बोल्यो । सकेको गर्यो ।

संविधान मान्दिन भन्यो । कानून मान्दिन भन्यो । दाता गुहार्यो, शक्तिकेन्द्र चाहारेयो । देशविरोधी असन्तुष्ट जमात एकठ्ठा गर्यो । त्यहाँ विद्रोह, घनिभूत संघर्षको पृष्ठ थिएन । युद्धै घोषणा पनि थिएन । तर ऊ अलग देशको अलक जगाउँदै हिंड्थ्यो । लोकतन्त्र र प्रजातन्त्रको, वाक तथा अभिव्यक्ति स्वतन्त्रताको दुहाई दिएर राज्यले उसलाई न शीरमा लाठी ठोक्यो न तिघ्रामा गोली । इन्काउन्टर त सोच्दा पनि सोचेन । कुलतमा लागेको छोरालाई पनि घाँटी थिचेर मार्नहुँदैन भन्यो देशले ।

अचानक जादू भो । कालोजादु । हठात् भो । हल्लै भएन । जासुसहरुले पनि सुईको पाएनन् । न कोलाहल न कोहोहोलो । एउटा नयाँ अवतार सिधै कारागारबाट राष्ट्रिय सभागृहमा देवतुल्य रुपमा उत्पत्ति भो । पुराणहरुमा श्रापित र कूपित अनुहार हठात् बरदान पाएर पुनः देवताकै अनुहारमा उपस्थित भएजस्तो । अहो !

अघिल्लो रात नै जायजेथा मिलिसकेको थियो । ऊ अराजनीतिकबाट राजनीतिक, विधर्मीबाट धर्मभिरु, दैत्यवाट देव, अराष्ट्रियबाट राष्ट्रभक्त भइसकेको थियो । विखण्डनको उसको मुखुण्डोमा राष्ट्रभक्तिको श्रीपेच तथास्तु भइसकेको थियो । सहमतिको सुनपानीले ऊ रातैभरमा पवित्र भो । अघिल्लो रातै उसमाथिका तमाम आरोप खारेज भो, उसका पाप र अपराधहरु पखालिइसकिए । अघिल्लो रातै सन्धी र सम्बन्धका लिखत तयार भइसकेका थियो । रात रहे अग्राख पलाउँछ भनेर एकै रातमा यो तजबीज मिलाईयो । जहाँ नीति, नियम, विधि, कानुन धोती लाइन्छ त्यहाँ पर्दापछाडि सब हुन्छ । जहाँ बुईगलमा पुग्न ढोका चाहिन्न त्यहाँ छानो र झ्याल नै मार्ग हुन्छ । र, झ्याल वा छानोबाट पसिसकेपछि प्रवेशद्वारको परिकल्पना व्यर्थ हुन्छ । न्यायको दूबो र बिधिको लोहोरोको डरले अक्सर पिशाच र निशाचरले झ्याल र छानोको बाटो रोज्दछन् ।

भोलीपल्टको पोलिटब्यूरोमा त ल्याप्चे मागिएको हो । सहिछाप । पटांगिनीमा तामस विलास गरेर आएकाले भोलीपल्ट सचिवालयमा सहमतिको लालमोहर लगाएकै हुन् । लाग्यो । पोहोर गिद्दे एकादशीमा पनि त्यस्तै भएको थियो । पार्टी एकताको घोषणामा । एक वर्ष त भो ।

को दक्षप्रजापति, को वीरभद्र, को शंकर ? यज्ञ नै गलत स्वार्थ र प्रयोजन हेतु आयोजन भइरहेको छ भने को पण्डित को यजमान ? को स्वयम्भू को चाक्षुस ? यज्ञ सम्पन्न भो । भक्तजन औ दर्शकलाई कोक्याउँछ भन्ने थाहा हुँदाहुँदै काँचो पिंडालुको प्रसाद खानुको विकल्प हुन्न । तुष बाँकि छ । घाँटी अँठ्याइरहेको छ ।
के जल्नु विधिको सतीले थियो ? न्यायको सतीले दग्ध हुनु थियो ? र, भइन् ?

रातारात यज्ञ सकियो ।

र, अचानक ऊ जादुयीपुरुष भो । ‘करिस्म्याटिक’ भो । ऊबेला ‘जेल’ले जुल्फी तलासेर यौनिक जुंगा मुसार्दै खुल्लामञ्च पुगेका प्रचण्डको बराबर भयो ऊ । ‘टल, डार्क एण्ड हेण्डसम्’ ऊ झुल्कियो । सरकारले उसका जुंगामा पनि कामवासनाको उत्तेजक गन्ध महशुस गरिरहे झैं लाग्थ्यो । अर्थात् ‘सेक्सी’ सिके । मुहारमा कान्ती भरेर ऊ आउँदा यज्ञका ब्रम्हा, विष्णु र महेश्वर तिनैजनाले एक स्वरमा गाएको जय सुनेर मन आल्हादित भयो । इतिहासमा भवितव्य हुँदैन ? हुन्छ । र, भयो ।

र, एकाएक ऊ देशको पूजारी भो । एकाएक ऊ संविधानको भक्त भो । नयाँ महापुरुषको गान हजार जिब्रायुक्त शेषनागले पनि गाउन नसक्ने भए । अब उसका खिलाप उभिनु अपराध भो । उसका विरुद्ध बोल्नु पाप भो ।

इतिहासका केही पाना यसरी ‘सिफ्ट’ भए । ‘स्वीच’ भए । कालो तुरुन्तै सेतो भो । यो त्यतिबेला सम्भव हुन्छ जब शासन र सत्तामा लगाम खुस्किएको दुईतिहाईको घोडा दौडिरहेको हुन्छ । यो त्यतिबेला सम्भव हुन्छ जब दभ्म, घमण्ड र अहंकारले मैमत्त भएका जुंगामुठेहरुको साम्राज्य हुन्छ । र, त्यस्तो साम्राज्यमा विधिको अपेक्षा निरर्थक हुन्छ ।

तर, जे भो राम्रै भो ।

कुपुत्रले पनि म सत्मार्गमा चल्छु भन्यो भने उसलाई बाटो दिनपर्छ । कोही रत्नाकरले म वाल्मिकी बन्छु भन्दा निषेध गरियो भने झन् ठूलो अपराध हुन्छ । कूनीति, असत्य, घृणा र शत्रुताको बाटो त्यागेर नीति, सत्य, प्रेम र मित्रताको बाटो हिंड्छु भन्नेलाई स्वागत नै गर्ने हो । तर पाप र अपराधको प्रायश्चित कुपुत्र र सुपुत्र दुबैले गर्र्नपथ्र्याे । अफसोच दुईतिहाईको दभ्ममा कहिलेकाँहि विधानको पनि बलत्कार हुन्छ ।

तक्षशिला विश्वविद्यालयका मेधावी छात्र अहिंसकलाई वातावरणले अंगुलीमाल बनायो । तर मान्छे जतिसुकै हिंसक भए पनि उसभित्र परिवर्तन सम्भव छ भनेर हामीले अंगुलीमाल भन्ते बनेको नीतिशिक्षा पढेका छौं । तक्षशिलाका अहिंसक र पुल्चोक इजिनियरिंग क्याम्पसका चन्द्रकान्तबीच उदाहरण जोड्न केही तन्तु पक्कै छन् ।

अखण्ड र विखण्डको संयोग

सरकारले चन्द्रकान्त राउतलाई सुनपानी छर्की पञ्चामृत ख्वाएको सातामै जेनेभा भन्ने ठाउँमा अर्को नेपालीले अखण्ड र बृहत नेपालको नक्सा प्रदर्शन गरे । सुगौली सन्धीअघिको नेपालको भूभाग अहिले भारतले उपनिवेश बनाएको दावी गरे । त्यो भूभाग भारतले नेपाललाई फिर्ता दिनपर्ने तर्क र धारणा राखे । ६० हजार बर्गकिलोमिटर अर्थात् झण्डै अहिलेको नेपालको आधा जत्रो भूभाग नेपालै हो, नेपालको हो भन्दै फणिन्द्र नेपालले स्वीट्जरल्याण्डको जेनेभामा पत्रकार सम्मेलन गरे ।

हिजो अलग मधेशको गीत गाउने राउत र बृहत नेपालका अभियन्ता फणिन्द्र नेपालमध्ये देशलाई को प्रिय लाग्छ ? सवाल त राज्य र राष्ट्रको भेद खुट्याउन नसक्नुमा पनि उत्तिकै छ । नेपाल राष्ट्र हो । नेपाली राष्ट्रियता हो । हामीले राष्ट्रियतामा मधेशी शब्द प्रयोग गरेर खिचेको खाडल दुबैमा उस्तै छ । यो मेटिदिंदा बन्ने हो देश । धोतीवाला राष्ट्रवाद र टोपीवाला राष्ट्रवादको रेखा मेटिएको दिन बन्ने हो देश ।

कसैलाई अहिले राष्ट्रवादी हुन पर्यो भने पहिला सुगौली सन्धी गाइन्छ । जलाइन्छ । मलाई १४ वर्षअगाडि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतीय संचारमाध्यमलाई दिएको अन्तर्वार्ता याद आउँछ । राष्ट्र्रवादको ईजार कहाँ कुन रुपमा फुस्कन्छ र नेताको राजखानी देखिन्छ थाहा हुन्न । सुगौली सन्धी अघि र पछिको विषय ‘मिडिया स्टन्ट मात्र भएको’ बताएर प्रचण्डले दक्षीणको दोषबाट मुक्ति पाइने जुक्ति निकालेको दृष्यलाई टाइम्स अफ इण्डियाले स्वादले लेखेको थियो त्यो बेला । लेखमा चाँहि चीन र पाकिस्तानपछि नेपालसँग भारतको सीमा समस्याबारे चर्चा गर्दै माओवादीहरुले आफ्नो शिविरमा समेत ग्रेटर नेपालको नक्सा पढाइरहेको हौवा पिटाइएको थियो ।

सेप्टेम्बर २०१५ मा डा. बाबुराम भट्राईले २४ घन्टामा देश विखण्ड हुन्छ भनेको झलझली याद आयो । कसरी औंलो समातेर राजनीतिमा राउतको राज्यको रण रचियो भनेर भोली कसैले सोध्लान् नै ।

संयोग यही हो । विखण्डनको एउटा लाठे सरकारी मेजमानी मानिरहेको छ । अखण्डको अर्को बुढो पहाड कौटिल्यकालीन, इशापूर्वकालीन नक्सा बोकेर ‘यो पनि नेपाल, त्यो पनि नेपाल’ भनिरहेको छ ।

पक्का छ, फणिन्द्र नेपाल राज्यको आँखामा आउँदैनन्, ओली र प्रचण्डको आँखामा नि छाउँदैनन् । तर चन्द्रकान्ताको नियत, नियति र प्रारब्ध राजनीतिक ‘कनेक्सन’ सँगै खुल्दै जानेछ । पुनः यस्ता संयोगको योगमा रमाउन पाएपछि भाडमा जाउन् फणिन्द्र नेपालहरु ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको